स्याङ्जामा विपद् कल सेन्टरको नयाँ नम्बर १२३४ सञ्चालन ।

प्रकाशित मिति:

साउन २, स्याङ्जा ।  स्याङ्जावासीले अब विपद् सम्बन्धी सूचना दिन तथा आपत्कालीन सहयोगका लागि टोल–फ्री नम्बर १२३४ मा निःशुल्क सम्पर्क गर्न सक्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र मार्फत सञ्चालन हुँदै आएको विपद् कल सेन्टरको पुरानो नम्बर ११४९ लाई परिवर्तन गरी नयाँ नम्बर १२३४ सञ्चालनमा ल्याएको जनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले नयाँ नम्बर नागरिकले सजिलै सम्झन सक्ने भएकाले विपद्को समयमा सूचना आदान–प्रदान, समन्वय र उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको बताउनुभयो । कल सेन्टर २४ सै घण्टा सञ्चालनमा रहनेछ ।
बाढी, पहिरो, भूकम्प, आगलागी, चट्याङ, शीतलहर लगायत प्राकृतिक तथा गैर प्राकृतिक विपद्का घटनाबारे जानकारी दिन, गुनासो वा सुझाव राख्न नागरिकले कुनै शुल्क नलाग्ने गरी १२३४ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
जिल्ला प्रशासन कार्यालयले विपद्को समयमा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना प्रवाहका लागि नयाँ टोल–फ्री नम्बरको प्रयोग गर्न सबै नागरिकसँग अनुरोध गरेको छ । साथै छिटो खबर गरौं, सुरक्षित रहौं भन्ने सन्देशलाई व्यवहारमा उतार्न पनि यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।