स्याङ्जा, २४ साउन । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर ढूट भाषाको अक्खालिपि केन्द्रित पुस्तक आखरहील्मा अक्षराङ्क को लोकार्पण तथा विमर्श कार्यक्रम वालिङमा सम्पन्न भएको छ ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाको आयोजनामा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष हर्क आले मगरको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको हो ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाका अध्यक्ष जी.बी. रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव तथा साहित्यिक अभियन्ता मिलन समीर, नेपाल मगर लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रुद्र श्रीस मगर, प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल र नेपाल मगर सङ्घका केन्द्रीय सदस्य गीता रखाली मगरले पुस्तक तथा लेखकद्वयको सिर्जनाबारे समीक्षात्मक मन्तव्य राखेका थिए ।
वक्ताहरूले मगर ढूट भाषा, साहित्य तथा अक्खालिपिको संरक्षण, विकास र पुस्तान्तरणमा ‘आखरहील्मा’ जस्ता कृतिको महत्वपूर्ण भूमिका रहने बताएका थिए । मगर भाषा र अक्खालिपि सिकाइलाई सरल, सहज तथा प्रभावकारी बनाउने उद्देश्यले पुस्तक तयार गरिएको लेखकद्वयले बताएका छन् ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाले प्रकाशन गरेको पुस्तकमा सिक्ने व्यक्तिको उमेर तथा सिकाइको स्तरअनुसारका विभिन्न सामग्री समेटिएका छन् । पुस्तकको नेपाली भाषा सम्पादन मिलन समीरले गरेका हुन् । लेखकद्वय जी.बी. राना र सावित्रा थापाका लागि यो पहिलो प्रकाशित कृति हो ।
कार्यक्रममा नेपाल मगर सङ्घ स्याङ्जाका सचिव धनबहादुर थापा, मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष खड्क पामी आले, नेपाल मगर सङ्घ गण्डकी प्रदेश अध्यक्ष दानबहादुर थापा तथा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य लक्ष्मी थापा मगर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
जी.बी. राना स्याङ्जाको गल्याङ नगरपालिका १ मा जन्मिएका हुन् । जनसङ्ख्या विषयमा स्नातकोत्तर गरेका राना हाल चापाकोट नगरपालिका ३ स्थित दिसिङकोट आधारभूत विद्यालयका प्रधानाध्यापकका रूपमा कार्यरत छन् । उनी साहित्यिक तथा शैक्षिक गतिविधिमा समेत सक्रिय छन् ।
त्यस्तै, सावित्रा थापा चापाकोट नगरपालिका ५ मा जन्मिएकी हुन् । अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी थापा हाल महेन्द्र माध्यमिक विद्यालय, चापाकोट ३ मा माध्यमिक तहकी अङ्ग्रेजी भाषा शिक्षिका छिन् । उनी नेपाल मगर लेखक सङ्घ स्याङ्जाकी सहसचिव समेत हुन् ।
कार्यक्रम लेखक तथा मगर भाषा साहित्यसँग सम्बन्धित विभिन्न व्यक्तित्वको सहभागितामा सम्पन्न भएको थियो ।









