स्थानीय उत्पादनको बजारीकरणका लागि स्याङ्जाको गल्याङमा कृषि बजार केन्द्र सञ्चालन।
असार ३ । स्याङ्जाको गल्याङमा स्थानीय किसानका उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले नयाँ कृषि बजार केन्द्र सञ्चालनमा आएको छ । सहकारी संस्थाको आयोजनामा तथा हेफर इन्टरनेशनल नेपाल र गल्याङ नगरपालिकाको सहयोगमा स्थापना गरिएको उक्त केन्द्रको बुधबार नगर प्रमुख गुरु प्रसाद भट्टराईले उद्घाटन गर्नुभएको हो ।
बजार केन्द्र सञ्चालनमा आएपछि स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरूको संकलन, बिक्री–वितरण र बजारीकरण व्यवस्थित हुने अपेक्षा गरिएको छ । किसानहरूले आफ्नै क्षेत्रमा उत्पादन बिक्री गर्न सक्ने भएकाले बिचौलिया माथिको निर्भरता घट्ने र उत्पादनको उचित मूल्य प्राप्त गर्न सहज हुने विश्वास लिइएको छ साथै उपभोक्ताले ताजा तथा गुणस्तरीय कृषि उपज सहज रूपमा खरिद गर्न सक्नेछन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख भट्टराईले कृषि क्षेत्रलाई नगरको आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाइएको उल्लेख गर्दै किसानको उत्पादनलाई बजारसँग जोड्न कृषि बजार केन्द्र महत्वपूर्ण माध्यम बन्ने बताउनुभयो ।
हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डेले स्थानीय सरकार, सहकारी संस्था र कृषकबीचको सहकार्यले कृषि क्षेत्रको व्यवसायीकरणमा टेवा पुग्ने धारणा राख्नुभयो। उहाँले बजार केन्द्रले किसानलाई उत्पादन वृद्धि गर्न थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख हेमा तिमिल्सिनाले कृषकका उत्पादनले सुनिश्चित बजार पाएपछि कृषि पेशाप्रति आकर्षण बढ्ने बताउँदै विशेषगरी महिला तथा साना किसानको आर्थिक सशक्तीकरणमा केन्द्रले योगदान पुर्याउने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कृषि बजार केन्द्रले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी किसानहरूले अब उत्पादन बिक्रीका लागि टाढाका बजार धाउनुपर्ने बाध्यता कम हुने र आफ्नै क्षेत्रमा उचित मूल्य प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् । उनीहरूका अनुसार बजार केन्द्रले उत्पादनको बिक्री सुनिश्चित गर्दै कृषि व्यवसाय विस्तारमा समेत सहयोग पुर्याउनेछ ।
स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको आम्दानी वृद्धि तथा कृषि क्षेत्रको व्यवसायीकरणलाई बल पुर्याउने लक्ष्य सहित सञ्चालनमा आएको गल्याङ कृषि बजार केन्द्रलाई यस क्षेत्रका कृषकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।











