असार १५, स्याङ्जा । शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनसँगै स्याङ्जाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले स्याङ्जामा ‘आरोग्य पर्यटन यात्रा’ गरिएको छ । गण्डकी प्रदेश एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना तथा जीवन विज्ञान स्याङ्जाको समन्वयमा उक्त कार्यक्रम भएको हो ।
‘शारीरिक र मानसिक स्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि आरोग्य पर्यटन’ भन्ने मूल नारा सहित स्याङ्जा सदरमुकामदेखि पुतलीबजार नगरपालिका कोल्मासम्म पैदल यात्रा गरिएको थियो । यात्रा मार्फत कोल्मा क्षेत्रको प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना तथा आरोग्य पर्यटनको अवधारणाबारे जनचेतना फैलाउने प्रयास गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा योग, ध्यान, सकारात्मक सोच र स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण समेत दिईएको थियो । सहभागीहरूले नियमित योग, सन्तुलित आहार र सकारात्मक जीवनशैलीले मानसिक तथा शारीरिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।
गण्डकी प्रदेश एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले नेपालको जैविक विविधता, बहुमूल्य जडीबुटी, प्राकृतिक सम्पदा, योग, आयुर्वेद र ध्यानजस्ता मौलिक अभ्यासलाई आरोग्य पर्यटनसँग जोडेर विश्वसामु प्रवर्द्धन गर्न सकिने बताउनुभयो । उहाँले आरोग्य पर्यटनको विकासले स्वास्थ्य प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र र पर्यटन क्षेत्रलाई समेत नयाँ गति दिने विश्वास व्यक्त गर्नुभयो ।
आरोग्य पर्यटनले स्वास्थ्यलाई केवल रोगको अभावका रूपमा नभई शारीरिक, मानसिक, सामाजिक र वातावरणीय सन्तुलनको समग्र अवस्थाका रूपमा स्थापित गर्ने अवधारणालाई बल पुर्याउनेछ । साथै स्याङ्जालाई आरोग्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित गराउन यस्ता गतिविधिले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।














