असार १६, स्याङ्जा । स्याङ्जाको वालिङमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका कृषकहरूलाई सम्मान गर्दै २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहपूर्वक मनाइएको छ ।
कृषि विकास कार्यालय, स्याङ्जाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका चार जना उत्कृष्ट कृषकलाई नग दसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सम्मानित हुनेमा वालिङ नगरपालिका ६ स्थित समर्पण कृषि फार्मका रेशमलाल रेग्मी, भीरकोट नगरपालिका ७ स्थित खिलुङकालिका अर्गानिक कृषि फार्मका शालिकराम अर्याल, भीरकोट नगरपालिका ६ स्थित शीतलादेवी पशुपालन फार्मका शिव खत्री क्षेत्री तथा पुतलीबजार नगरपालिका ७ स्थित राना सुन्तला कृषि फार्मका रामकाजी राना रहेका छन् ।
उनीहरूलाई कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा व्यावसायिक कृषि विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी पूर्व मन्त्री सरस्वती अर्यालले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्न मेहनती किसानहरूको सम्मान आवश्यक रहेको बताउनुभयो ।
उहाँले उत्पादनमुखी कृषि प्रणालीलाई प्रोत्साहन गर्न राज्यले किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले मेहनती कृषकको हौसला बढाउनुका साथै कृषि पेशाप्रति युवाको आकर्षण वृद्धि गर्न र व्यावसायिक कृषि प्रवर्द्धनमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ ।









