आईसीएफसीको सहयोगमा सार्वजनिक शौचालय पुनः सञ्चालनमा ।

प्रकाशित मिति:

असार १७, स्याङ्जा । नेपाल र फिनल्यान्ड सरकारको सहयोगमा वि. सं २०७५ सालमा निर्माण भएको स्याङ्जाको गल्याङ नगरपालिका ८ चिउरी स्थित सार्वजनिक शौचालय व्यवस्थापन र नियमित मर्मत सम्भारको अभावमा वर्षौंदेखि प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको थिएन । सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा स्थानीय बासिन्दाले समेत यसको सुविधा लिन पाएका थिएनन् ।

सार्वजनिक शौचालयको आवश्यकता महसुस गर्दै स्थानीय युवाले यसको संरक्षण र सञ्चालनका लागि पहल गरेपछि आईसीएफसी फाइनान्स लिमिटेड, गल्याङ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम अन्तर्गत सरसफाइ, रङरोगन तथा आवश्यक मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याएको हो ।
आईसीएफसी फाइनान्स गल्याङ शाखाका प्रमुख सन्दीप अधिकारीकाले समुदायले आवश्यकता महसुस गरेका क्षेत्रमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको बताउँदै अब यसको नियमित संरक्षण स्थानीय तह र समुदायको साझा जिम्मेवारी हुने उल्लेख गर्नुभयो ।
त्यस्तै गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले सार्वजनिक संरचना निर्माणसँगै त्यसको संरक्षण र व्यवस्थापनमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । निजी क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस्तो कार्यले समुदायमा सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो ।
उक्त निर्माण कार्यमा स्थानीय युवाहरूले श्रमदान समेत गरेका थिए । उनीहरूको सक्रिय सहभागिताले सार्वजनिक सम्पत्तिको संरक्षणमा समुदायको अपनत्व र सहकार्यको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।