असार २३, स्याङ्जा । स्थानीय युवायुवतीलाई व्यावसायिक सीप प्रदान गर्दै स्वरोजगार, उद्यमशीलता तथा आतिथ्य क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्याङ्जाको गल्याङ नगरपालिकाले सञ्चालन गरेको १६० घण्टे आधारभूत वारिस्टा (कफी बनाउने) तालिम सम्पन्न भएको छ । “सिप सिकौं, स्वरोजगार बनौं” भन्ने नारा सहित सञ्चालन गरिएको उक्त तालिमको समापन समारोह मंगलबार गल्याङ नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
गल्याङ नगरपालिकाको आयोजना तथा भूमिका टेक्निकल सर्भिस प्रा.लि., देवचुली २, नवलपरासीको प्राविधिक सहजीकरणमा सञ्चालन गरिएको उक्त तालिममा ५२ जना प्रशिक्षार्थी सहभागी भएका थिए । १६० घण्टे तालिमका क्रममा सहभागीहरूले कफीको परिचय, विभिन्न प्रकारका कफी तयार गर्ने विधि, एस्प्रेसो मेसिन सञ्चालन, दूध फ्रोथिङ, ल्याटे आर्ट, ग्राहक सेवा, खाद्य स्वच्छता, क्याफे व्यवस्थापन तथा व्यवसाय सञ्चालन सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका थिए ।
उक्त समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय स्तरमै रोजगारी र उद्यम सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नगरपालिकाले बजारको माग अनुसारका सीप विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रमुख हेमा न्यौपानेले सीप नै दिगो आम्दानीको आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर आफ्नै व्यवसाय सञ्चालन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले नगरपालिकाले सञ्चालन गर्ने यस्ता तालिमहरू प्रमाणपत्रमा मात्र सीमित नरही सहभागीको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम वडा नं ४ का अध्यक्ष ढाकाराम न्यौपाने, ८ का अध्यक्ष झिम बहादुर थापा, प्रशिक्षार्थी विशाल पाठक लगायतले आफ्नो धारणा राखेका थिए ।
उक्त तालिमका प्रशिक्षक मन्जिल मानन्धर र विवेक अधिकारी ले १६० घण्टे प्रशिक्षण अवधिमा सहभागीहरूले बरिस्टा पेशाका आधारभूत देखि व्यावसायिक पक्षसम्म राम्रोसँग सिकेको बताउँदै निरन्तर अभ्यासले सफल व्यवसायी बन्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रमको सञ्चालन रोजगार शाखा प्रमुख खगेन्द्र भण्डारीले गर्नुभएको थियो । समापन समारोहमा तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीहरूले तालिमले आफूहरूमा नयाँ सीप, आत्मविश्वास र स्वरोजगारको सम्भावना बढाएको अनुभव समेत साझा गरेका थिए ।









