चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने दावी गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा कुरा गर्दै महामन्त्री कोइरालाले चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुने गरी पार्टीले काम गर्ने बताए ।
त्यस क्रममा उनले पार्टीको नेतृत्व परिवर्तनका बारेमा पनि प्रष्ट पारे । उनले भने “आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस शुरु भएको छ”, उनले पार्टी सभापतिको क्रियाकलापले उनको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको समेत बताए । जिल्लाका नेता कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उनले बताए ।
महामन्त्री कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढङ्गले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताए । उनले सरकारका गतिविधि जनतालाई सुसूचित गराउन माघ २१ गते जनखबरदारी कार्यक्रम आयोजना गरिएको जानकारी दिए।












