वीरेठाँटीका विद्यार्थी किम सरसँग बोधगयामा

प्रकाशित मिति:

 पोखरा – झुस्स दारी । चिम्सा आँखा । गोरो छालाका एक व्यक्ति कास्कीको वीरेठाँटी पुगे । उनी हुन्, लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धानकर्ता कोरियन नागरिक कु हुङ किम । किमले वीरेठाँटी माध्यामिक विद्यालयलाई सघाउने निधो गरे । शिक्षा क्षेत्र, त्यसमा पनि ग्रामीण भेगको विद्यालयमा सघाउने उनको इच्छा थियो । वीरेठाँटीका विद्यार्थीसँग उनको सम्बन्ध गाँसियो । त्यहाँ अधिकांश विद्यार्थी आयआर्जन कम र आर्थिक विपन्न थिए । किमले वीरेठाँटी माविमा ‘खसीले मसी हुन्छ’ भन्दै २० लाख रुपैयाँका बाख्रा २ दुई सय जना अभिभावकलाई बाँडे । बाख्रा पाल्दै विद्यार्थीको शिक्षाका लागि उनले यसो गरेका थिए ।

त्यतिमात्र होइन, वीरेठाँटीका विद्यार्थीलाई खेलकुद सामाग्री र पोशाक उपलब्ध गराए । विद्यालयको गेट, प्रविधिसहितको स्मार्ट कक्षाकोठा निर्माणमा उनले आर्थिक सहयोग जुटाए । उनी, एक कलाकार पनि हुन् । उनले त्यहाँका विद्यार्थीलाई कलाकृति बनाउन सघाए ।

किमले गाउँका विद्यार्थीलाई कला सिकाउने र त्यसको प्रचार गर्ने काम गरेका छन् । हालै वीरेठाँटी माविका विद्यार्थी गौतम बुद्धले ज्ञानप्राप्त गरेको बोधगया पुगेर विश्व शान्तिका लागि कला सिर्जना गरी फर्किएका छन् । किमकै नेतृत्वमा उनीहरुले बोधगया देख्ने अवसरमात्रै पाएनन्, कला प्रदर्शन र यात्रामा भाग लिन पनि पाए ।

कला यात्रामा विद्यालयका विशाल चपाईं, एलिशा तामाङ, मोनिका तामाङ, नवीन परियार, प्रदीप आचार्य र शोभा परियार सहित कलाकारका अभिभावक जगतप्रसाद आचार्य, सीता परियार, विष्णुमाया तामाङ र सीता चपाईंसहितकोे समूह बोधगया पुगेका थिए ।

बोधगयामा हिमालयन ड्रिम टिमका कलाकारले ३० वटा कला तयार गरे । यसअघि बुद्धको जन्मस्थल लुम्बिनीमा पनि किमकै पहलमा कला यात्रा भइसकेको छ । समूहले तयार गरेका कला कोरियाको सिउलमा प्रदर्शनी पनि भइसकेको छ । प्रदर्शनीबाट विद्यालयमा आर्थिक सहयोग गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धानकर्ता किमले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिकी सदस्यसमेत रहेकी विष्णुमाया तामाङका दुई छोरी हालै वोधगया पुगेर फर्किँदा उनी हर्षविभोर छिन् । ‘दुबै छोरीलाई चाहेर पनि कलाकार बनाउन सक्थिनथें, किम सरको सहयोगले स्कुलमै कला सिक्ने अवसर पाए,’ उनले भनिन्, ‘गत वर्ष कोरिया पुगेर कला प्रदर्शनी गरेका दुई छोरीकै कारण अहिले आफू पनि बोधगयासम्मको कला यात्रामा सरिक हुन पाएँ ।’ कला यात्राको आर्थिक लगानी किमले नै गरे ।

आठ कक्षा पढ्ने मोनिका र दश कक्षामा पढ्ने एलिशा तामाङ दुबै दिदीबहिनीले एकै स्वरमा भने ‘हामीले स्कुलमै कक्षा शिक्षकका रूपमा किम सर पायौं र हाम्रो कलायात्राको ढोका खुल्योे ।’ भविष्यमा कलाकार नै अठोट तामाङ दिदीबहिनीको छ ।

विद्यालयका छात्र विशाल चपाईं चित्र बनाएरै कोरियासम्म पुगेर आए । उनकी आमा सीताले बोधगयासम्म पुग्ने मौका पाइन् । ‘आफ्ने आँखा अगाडि छोराले महावोधी मन्दिरको चित्र बनाउँदा हर्षका आँसु खसे’ सीताले भनिन् ।

बिहारको राजधानी पटनाबाट दक्षिण पूर्व १ सय किलोमिटर टाढा वोधगयामा बुद्धले बुद्धत्व प्राप्त गरेका थिए । विश्व सम्पदा सूचीमा परेको बोधगयाको महाबोधी मन्दिर आसपासमा समूहका कलाकारले ३ दिनसम्म चित्र बनाएका थिए । नेपालको इतिहास, संस्कृति र जात्रासम्बन्धी कोरियन भाषामा पुस्तक प्रकाशन गरेका किमले विश्व शान्तिको कामना गर्दै आफ्नो समूहलाई बुद्धसम्बन्धी कला सिर्जना गर्न निर्देशन दिएका थिए ।कला यात्राबाट फर्केपछि किमले भने ‘यस पटक हिमालयन ड्रिम टिमका विद्यार्थीले हिन्दु र बुद्ध धर्मको साँस्कृतिक पक्ष बुझन पाए । आफू तीस वर्ष पहिले नेपाल घुम्न आउँदा बोधगया गएको र अहिले जाँदा धेरै परिवर्तन भएको जानकारी दिए ।