नबलपरासीको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारको आठ आना जग्गा किनेको हो : विष्णु पौडेल
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारी जग्गा नहडेपेको दाबी गरेका छन्। पौडेलले शुक्रवार साँझ विज्ञप्ति जारी गरी आफूले कानुन बमोजिम नै जग्गा खरिद गरेको र यसको निष्पक्ष छानविन गर्न माग गरेका छन्।
गैरकानुनी रुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने, संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गर्ने र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई आफूले सघाउने स्पष्ट पार्दै पौडेलले राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन हुनुपर्ने माग गरेका छन्। उनले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन्। राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन होस् र छानविनका निष्कर्षहरू कार्यान्वयन होउन्। राज्यको आधिकारिक निकायबाट हुने छानविनका निष्कर्षप्रति मेरो दृढ समर्थन रहने छ’, उनले भनेका छन्, ‘म माथि लगाइएका आरोपहरू पुष्टि गर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु।’
पौडेलले नवलपरासीको बर्दघाट नगरपालिका १० मा पूर्व–पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारको आठ आना जग्गा किनेको दाबी गर्दै सो जग्गालाई सांसद र मन्त्री हुँदा सम्पत्ति विवरणमा समेत उल्लेख गरेको बताएका छन्।












