बुटवल पुगेर सरकार बिरुद्ध खनिए काँग्रेस नेता

प्रकाशित मिति:

सरकारले बिकाश र संबिधान कार्यान्वयन दुबै रोकेको आरोप

बुटवल बैसाख ८/

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार बुटवलमा आयोजित नेपाली काँग्रेस रुपन्देही ४ नं क्षेत्रको क्षेत्रीय सम्मेलनलाई संबोधन गर्दै सरकारको चर्को आलोचना गरेकाछन् । उनले भने ‘समृद्धिको बिहानीमा कुहिरोको काग अहिले को सरकार, कम्युनिष्टहरुले अरुलाई भनिरहन्छन् तर आफुले सुन्न सक्दैनन् । गल्ती भयो भन्ने फेरी दोहोराई रहने, आत्मलोचना गर्न नसक्ने, उनीहरुको चरित्र नै त्यही हो । ’ दुई तिहाईका सरकारका मन्त्रीको काम फोटो खिच्ने मात्र भएको भन्दै कटाक्ष गरे । प्रधानमन्त्रीको कार्य शैली प्रति असन्तुष्टि पोख्दै पौडेलले भने ‘कार्यकारी प्रमुखले अथवा सरकारले न्यायलयको अधिकार पनि, संसदको अधिकार, संबैधानिक निकायहरु पनि आफैमा अन्तरनिहित गर्यो भने त्यो लोकतन्त्र हुँदैन, संबिधान मानेको हुँदैन’ । उनले पैसा जम्मा गर्ने र भोट किन्ने अनि सत्ता कब्जा गर्ने ध्याउन्नमा सरकार लागेको आरोप लगाए । भ्रष्टाचार नियन्त्रण गर्ने नसक्ने गरि फैलिएको आरोप लगाउँदै भने ‘यो भ्रष्टाचारको खेलले लोकतन्त्र माथि सबै भन्दा ठुलो प्रहार भैरहेको छ । ’

 

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले संसद नजन्मिदै जन्मिएको प्रधानमन्त्री संसारमा केपी ओली भएको आरोप लगाउँदै शुरुबाट प्रधानमन्त्रीले असंबैधानिक कदमहरु चाल्दै आएको बताए । उनले अहिलेको सरकारले न्यायपालिका मा हस्ताक्षेप , प्रेस स्वतन्त्रतामा अंकुश लगाउने देखी सुरक्षा परिषद् आफ्नो हातमा लिएर सेनालाई नियन्त्रणमा लिने प्रयास गरेको आरोप समेत लगाए । उनको बिचारमा सहमति जनाउँदै नेपाली काँग्रेस संसदीय दलमा प्रमुख सचेतक समेत रहेका नेता बालकृष्ण खाँडले पनि नियन्त्रित शासन प्रणालीको पक्षमा अहिलेका प्रधानमन्त्री रहेको आरोप लगाए ।

नेपाली काँग्रेसका नेता तथा संघिय संसदका सदस्य समेत रहेका गगन कुमार थापाले अहिलेको जस्तै केपी ओलीको नेतृत्वमा सरकार भएको भए संबिधान नै आउन सक्ने अबस्था नहुने तर्क गरे । उनले काँग्रेसले दुःख गरि बनाएको संबिधानको कार्यान्वयनमा नै खतरा भएको भन्दै यो खतरा अहिलेको सरकारबाट भएको बताए ,उनले भने ‘बिप्लबबाट संबिधानलाई खतरा छ भन्ने म मान्दैन ,सिके राउत बाट ? सिके राउतलाई तह लगाउन मधेशी जनता नै काफी छन् , मन्दिर मन्दिर घुम्नु भएको पूर्व राजा बाट ? वा राजाको भजन गाउने पूर्व मण्डलेबाट ? दुबै बाट होइन । यो संबिधानलाई सबै भन्दा बढि खतरा कोहीबाट छ भने यने संबिधानको सपथ खाएर बनेको सरकारबाट यो संबिधानलाई सबै भन्दा बढि खतरा छ र यो नै आजको निम्ति डरलाग्दो बिषय हो ।’ उनले पूर्व राजसंस्थाको भद्धा नक्कल गर्दा गर्दै प्रत्येक दिन राष्ट्रपतिबाट जनता आजित भएको बताए । प्रधानमन्त्रीले ७५३ ओटा स्थानीय सरकार र ७ ओटा प्रदेश सरकार छ भन्ने सम्म बिर्सिएको उनको आरोप थियो । उनले प्रदेश नं ५ का मुख्यमन्त्रीलाई केपी ओलीको कारिन्दा मात्र भएको आरोप लगाउँदै भने ‘प्रदेशका् मुख्यमन्त्री प्रदेशको सानका निम्ति प्रदेशको हकका निम्तिका लड्छ, प्रश्न गर्छ तर प्रदेशको मुख्यमन्त्रीलाई प्रदेशको मुख्यमन्त्री भएको आभासै छैन, अहिले सम्म नेकपाको कार्यकर्ता को अनुभुती बोकेर गौरब साथ हिँडेको अवस्था छ ’ ।

अर्का बक्ता नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले अहिलेको सरकार र बाम गठबन्धनले काम गर्न नसक्ने भन्ने कुराको अनुमान पहिल्यै गरिएको भन्दै भने ‘बाम गठबन्धन बन्छ र चुनाव जित्छ र चुनाव जितेर राम्रो काम गर्छ भन्ने हामीलाई बिश्वासै थिएन,किनकी उनीहरुलाई हामीले राम्रो गरि चिनेका थियौं, हुकुमी पाराले खान पल्केको माओवादी अनि रकमी पाराले मिलाएर खान जानेको एमाले हामीले राम्रोसँग चिनेका थियौं ’ ।