बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ इन्चार्ज वसन्त श्रेष्ठ प्रज्वलन लाई आज रुपन्देही जिल्ला कारागार चलान गरिएको छ । विस्फोटक पर्दाथसम्बन्धी मुद्दामा संलग्नता रहेको आरोपमा गत सोमबार काठमाडौ देखि रुपन्देही ल्याईएका उनलाई आज बुधबार अदालतले चार हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।सरकार बादी रहेको मुद्दामा प्रतिवादी श्रेष्ठको तर्फबाट अधिबक्ता ज्ञानु केसि, अधिवक्ता शिव पौडेल, अधिवक्ता ओम प्रकाश पङ्गेनी र अधिवक्ता कृष्ण पोख्रेलले बहस गरेका थिए भने ईजलास न ४ का वरिष्ठ न्यायाधीश श्री हिमलाल बेल्बासेले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएका थिए । तर पुनस् अदालत परिसरबाट समात्ने र अन्य जिल्लामा लैजाने भएपछि नेता श्रेष्ठ धरौटी नतिरी कारागार चलान भएका हुन ।
उनलाई पुनस् पक्राउ गर्न जिल्ला अदालत भैरहवाको परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । आफ्नै गृहजिल्ला समेत रहेको रुपन्देहीमा उनी लामो समय राजनीतिक जिम्मेवारीमा समेत थिए । २०६४ सालको संविधान सभाको चुनावमा रुपन्देहीको तत्कालीन क्षेत्र न ५ बाट चुनावमा समेत उठेर पराजित भएका श्रेष्ठ त्यसपछि लगातार बिद्रोहि धारको राजनीतिमा सक्रिय छन । २०७५ साल चैत ८ गते काभ्रेबाट गिरफ्तार परेका उनलाई पटकपटक विभिन्न जिल्लाका हिरासतमा राखिएको थियो । उनी र सो पार्टी समर्थित धेरै नेता कार्यकर्तालाई अदालतले छोड्ने आदेश दिने र प्रहरीले पुनस् समात्ने गरिरहेको छ । गत फागुन २८ गते प्रतिबन्ध लागेपछि सो पार्टीका धेरै नेता कार्यकर्तालाई प्रहरीले समात्ने र विभिन्न मुद्दा लगाउने गरेको छ ।












