निर्मला हत्याकाण्डलाई लिएर तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापालाई निर्मला हत्याकाण्डका बारेमा दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि भएको हत्या घटनाको एक वर्ष पुगेको दिन तरुण दलले विज्ञप्ति जारी गरेर गृहमन्त्री थापालाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन माग गरेको हो । यसअघि प्रधानमन्त्रीले न्याय पाउन १२ वर्ष लाग्छ भनेर भन्नू र अहिले गृहमन्त्रीले सञ्चारकर्मीसँगको कुराकानीमा ‘निर्मला हत्याकाण्ड नौलो नभएको र यस्ता घटनाहरु भइरहन्छन् र भइरहने’ जस्तो अति नै अमानवीय, गैरजिम्मेवार र निकृष्ट ढंगले अभिव्यक्ति दिएका छन्,” तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल तरुण दल गृहमन्त्रीलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन, जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन जोडदार माग गर्दछ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा हुँदा पनि सरकारले दोषी पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै तरुण दलले सरकारको आलोचना गरेको छ । सरकारले दोषी पत्ता लगाएर निर्मलाको परिवारलाई न्याय दिनुको सट्टा सरकार निर्दोषलाई फसाएर दोषीको संरक्षणमा उत्रिएको तरुण दलको आरोप छ ।सरकारले न दोषी पत्ता लगाउन सक्यो न निर्मलाका परिवारलाई न्याय दिन सकेको छ । त्यस विपरित सिंगो सरकार नै गलत दोषी खडा गरेर निर्दोषलाई फसाउने र दोषीलाई बचाउने खेलमा लाग्यो  विज्ञप्तिमा भनिएको छ निर्मला पन्तको बलात्कार र हत्यापछि पनि बलात्कार र हत्याका घटनाहरु भए । तर, सरकार ति सबैका दोषीलाई कारबाही गर्न पूर्ण असफल भयो । तरुण दलले सरकार बलात्कारी र अपराधीलाई जोगाइरहेको, नागरिकको सुरक्षा गर्न नसकेको र कानुनको धज्जी उडाइरहेको टिप्पणी गर्दै सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।