नेकपाले थापा र पौडेललाई दियो प्रदेश एकता र परिचालनको जिम्मा

प्रकाशित मिति:

काठमाण्डौ / नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय कार्यसमितिको जिम्मेवारी तोक्न र प्रदेश सदस्य चयनका लागि दुई सदस्यीय कार्यदल बनाएको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेशको एकता टुंग्याउन र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिनका लागि सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महासचिव पौडेलले बैठकले प्रदेश सदस्यहरुको टुंगो लगाउने र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने जिम्मा दुई सदस्यीय कार्यदललाई दिएको बताए।

पार्टीले यसअघि नै प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको चयन गरे पनि नेताहरु माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले फरक मत राख्दै आएका छन्।

त्यस्तै कार्यविभाजन नहुँदा थुप्रै केन्द्रीय सदस्यहरु अन्योलमा रहेको र नेकपाको धेरैजसो काम सचिवालयबाट मात्रै हुँदै आएको भन्दै केन्द्रीय सदस्यहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

थापा र पौडेल सदस्य रहेको प्रदेश सदस्यको छनौट गर्ने र केन्द्रीय सदस्यको जिम्मेवारी तोकेको सूचि सचिवालयमा पेस गर्ने र सचिवालयले त्यसलाई अन्तिम रुप दिने महासचिव पौडेलले जानकारी दिए।