देवदहका मेयरलाई धम्क्याउनु अराजनीतिक भएको स्थानीय दलको ठहर

प्रकाशित मिति:

बुटवल/रुपन्देहीको देवदहका मेयर हिराबहादुर खत्रीको घर खाली गर्न भनि विप्लप माओवादीले दिएको धम्कि र सूचनाप्रति देवदहमा क्रियाशिल विभिन्न राजनीतिक दलहरुले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नागरिकको शान्तिपुर्ण रुपले बाच्न पाउने अधिकारको हनन् गरि नेपाली कांग्रेस रुपन्देही क्षेत्रनम्बर एकका सभापति तथा देवदह नगरप्रमुख खत्रीको घर छोड्न भनि टाँसिएको सुचना र धम्किपुर्ण कार्यप्रति देवदहका ६ राजनीतिक दलहरुले आपत्ती जनाएका हुन् ।

उनीहरुले संयुक्त रुपमा प्रेस वक्तब्य जारी गर्दै देवदह–३ टटेरामा रहेको हकबन्दी बढीको ९ विगाहा १० कठ्ठा जग्गाको सन्दर्भ जोडेर खत्रीलाई गरिएको खवरदारी सुचना अराजनीतिक भएको ठहर गरेका छन । देवदहमा क्रियाशिल नेकपाका नगर सचिव मनकुमार कनौजे, कांग्रेस नगरसभापति गुणखर भुर्तेल, राप्रपा अध्यक्ष माधव रिमाल, राष्ट्रिय जनमोर्चा अध्यक्ष हरी केसी, राष्ट्रिय जनमुक्तिका अध्यक्ष डम्बरबहादुर थापा र नेकपा माओवादी क्रान्तिकारीका ऋषिराम लामिछानेले संयुक्र रुपमा वक्तब्य निकालेर उक्त क्षेत्रको बारेमा स्थलगत अनुगमन समेत नगरिकन गरिएको क्रियाकलाप गैरराजनीतिक भएको ठहर गर्दै सो क्षेत्रमा जोतभोग गर्ने मध्ये केही पनि भुमिहीन भएको पाईएमा उनीहरुलाई बसोबासकोे ब्यवस्था मिलाउने समेत दलबीच सहमति भएको वक्तब्यमा उल्लेख गरिएको छ । देवदहका नगरप्रमुख खत्रीको घरमा घर खाली गर्न भनि असार १८ गते विप्लव माओवादी जिल्ला जनअदालतको पर्चा फ्याकिएको थियो ।

यसैबीच नेपाली कांग्रेस रुपन्देही क्षेत्रनम्बर एकले पनि विज्ञप्ती निकालेर विप्लव माओवादीको कार्यप्रति आपत्ती जनाएको छ । क्षेत्रीय उपसभापति लालबहादुर चौधरीले विज्ञप्ती निकालेर घर खाली गर्न भनि धम्क्याउनु र मनगणन्ते विषयहरु उठाएर नगरप्रमुख तथा क्षेत्रीय सभापतिलाई धम्क्याउनु गैरराजनीतिक भएको ठहर गरेको छ । विप्लव माओवादीका यस्ता गतिविधीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ । खत्रीमाथी लगाइएको आरोप तथ्यहीन, निराधार र कपोकल्पीत रहेको ठहर गर्दै कसैप्रति गुनासा र समस्या र भ्रमहरु भएमा सम्वाद मार्फत समाधान खोज्न विप्लव माओवादीलाई आग्रह गरेको छ । खत्रीलाई जोडेर देखाइएको जग्गा देवदह नगरपालिकाले स्थानीय राजनीतिक दलहरुको सहमतिमा नेपाल सरकारद्वारा औद्योगिक ग्राम बनाउने निर्णय भएको कुरा समेत विज्ञप्तीमा उल्लेख गरिएको छ