गल्याङमा पशुका लागि एक करोड अनुदान : उत्पादनका आधारमा थप अनुदान दिइने नगरप्रमुख अधिकारीको भनाई

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा पशु किसानका लागि एक करोड रुपैयाँ अनुदान वितरण गरिएको छ ।  आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट गल्याङ नगरपालिकामा एक करोड रुपैयाँ बजेट अनुदानमा वितरण गरिएको हो । नगर प्रमुख भुपराज अधिकारीले किसान नै सबै भन्दा ठूलो व्यक्ति भएकाले पशु किसानका लागि उत्पादनमा आधारित अनुुुुुुुुुुुुुुदान गरिएको स्पष्ट पार्नुभयो । उहाँले कृषि र पशुका क्षेत्रमा नगरपालिकाले विशेष अनुदानको व्यवस्था गरेको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘किसानले उत्पादन गरेका वस्तुले मात्रै संसारमा जीवन रहने भएकाले किसान जत्तिको ठूलो अरु कोही छैन ।’

गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले किसानलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्थाका लागि नगरपालिकाले विशेष योजना बनाएको बताउनुभयो । कृषि क्षेत्र र पशुका लागि नगरपालिकाले आवश्यक मात्रामा बजेटको व्यवस्था गरेको बताउनुभयो । पशु शाखा प्रमुख सुशिल अर्यालका अनुसार अनुधान मध्ये धेरै रकम गाई भैंसीका लागि गएको छ । उहाँले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानका लागि सबै भन्दा धेरै ४८ लाख रुपैयाँ सहित गाई भैंसीका लागि ७५ लाख रुपैयाँ बजेट अनुदानको क्रममा वितरण गरिएको जानकारी दिनुभयो । गल्याङमा चार सय भन्दा बढि परिवारले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान पाएका छन् । यस्तै, पशुधन विमा कार्यक्रममा साना ठूला गरी २३ सय परिवार लाभान्दित हुँदा दश लाख रुपैयाँ नगरपालिकाले अनुदान वितरण गरेको छ । यसैगरी, तीन सय घर परिवारका लागि १२ लाख ८४ हजार भन्दा बढि ऋणमा अनुदान वितरण गरिएको पशु शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो ।
यस्तै, बंगुरपालन व्यवसायमा ३३ वटा समूह तथा फर्मका लागि दश लाख रुपैयाँ अनुदान वितरण गरिएको छ ।यसैगरी, बाख्रापालन तर्फ ७२ वटा फर्म तथा समूहका लागि १५ लाख रुपैयाँ अनुदान वितरण भएको छ भने दुई वटा कुखुरा फर्मका लागि एक लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ ।

यस्तै, दुध संकलन तथा क्षमता विस्तार कार्यक्रममा दुई वटा फर्मलाई दुई लाख रुपैयाँ वितरण गरिएको छ । घाँस विकास कार्यक्रम अनुसार तीन सय घर परिवारका लागि तीन लाख रुपैयाँ वितरण गरिएको छ । यसैगरी, एक सय ५० पशुको थुनेलो नियन्त्रण कार्यक्रमका लागि ६७ हजार रुपैयाँ तथा दुई सय वटा पशुमा कृतिम गर्भाधान सेवाका लागि दुई लाख रुपैयाँ नगरपालिकाले अनुदान बाँडेको छ । यस्तै, नगरपालिकाका वडा नम्बर २, ४, ८ र दशमा गोबर परिक्षण, बन्ध्याकरण सेवा, खोप सेवा र त्यसका लागि सामाग्री खरिदमा नगरपालिकाले निशुल्क अनुदान वितरण गरेको छ । यसैगरी, दुधालु पशुका लागि ५२ वटा फर्ममा फार्म सुधार कार्यक्रम अन्तर्गत १३ लाख रुपैयाँ नगरपालिकाले अनुदान वितरण गरेको छ । ७० प्रतिशत अनुदानमा नगरपालिकाले ४२ वटा फर्मलाई यान्त्रीकरण कार्यक्रमका लागि ११ लाख वितरण गरेको छ । नगरपालिकाले कृषि तथा पशुका लागि आवश्यकताका आधारमा थप रकम अनुदानको व्यवस्था गर्ने तय गरेको पशु शाखा प्रमुख अर्यालले बताउनुभयो ।