मायादेवी गाउंपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

प्रकाशित मिति:

बाटोको बिकास मात्र समग्र गाउँ पालिकाको विकासको रुपमा नरहेको रुपन्देहीको मायादेवी गाउँ पालिकाका स्थानियहरुले गुनासो गरेका छन् । मायादेवी गाउँ पालिकाले आयोजना गरेको गाउँ पालिकाको बिकास निर्माण र सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाईमा बोल्दै स्थानियहरुले गाउँ पालिकाको शिक्षा, स्वास्थ्य, कृषिमा पनि उत्तिकै ध्यान दिन सुझाव दिए । अहिले पनि गाउँ पालिकामा कृषिका लागी बिउ, मलको अभाव भएको हुदा यस तर्फ पनि ध्यान दिन कृषकहरुले आग्रह गरेका थिए । अनुदानको नाममा गाउँ पालिकाले दिएको गँहुको बिउ अप्रयाप्त रहेको कृषकहरुको गुनासो थियो ।
स्थानीय तह तथा अन्य सरकारी निकायबाट हुने विकास निर्माणका कार्यक्रम, र दैनिक सेवा प्रवाहको वारेमा सार्वजनिक गरी त्यस्ता विषयका बारेमा सार्वजनिक स्थलमा सेवाग्रही नागरिकले उठाएका प्रशनहरुमा स्पष्टता ल्याउने र नागरिकहरुबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्न कार्यक्रमको आयोजना गरिएको गाउँ पालिका अध्यक्ष ध्रुव नारायण चौधरीले बताए । उनले गरी भावी दिनहरुमा कमी कमजोरी हुन नदिई सुशासन कायम गर्न टेवा पुर्याउन सार्वजनिक सुनुवाई कार्यक्रमले सहयोग गर्ने बताए ।

सार्वजनिक सुनुवाईमा प्राप्त भएका सुझावहरुलाई पालन गरि आगामी दिनमा गाउँ पालिकालाई जिल्लाकै नमूना गाउँ पालिकाको रुपमा अगाडी बढाउने उनले प्रतिवद्धता समेत जनाए । उनले कृषि विकास तर्फ विभिन्न तालिम, केरा टिस्यू कल्चर बेर्ना बितरण, कृषि सम्बन्धि तालिम, विभिन्न बाली तथा तरकारीको उन्नत बीउ बितरण, आकास्मिक बाली संरक्षण सेवा बितरण कार्यक्रमले कृषि कर्ममा सहयाृग पुगेको बताए । उनले यी सबै सेवाबाट १ हजार ३ सय ४१ कृषक लाभान्वित भएको र प्रधानमन्त्री कृषि अधुनिकिकरण परीयोजना मार्फत कृषिलाई ब्यवसायिकरण गर्ने कार्यको थालनी भएको जानकारी समेत दिए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले आर्थिक वर्ष २०७४÷०७५ को कुल आय÷व्यय र सम्पन्न भएका मुख्य मुख्य कार्यहरु र उपलब्धीहरु बारे जानकारी गराएका थिए । उनले गत बर्ष गाउँ पालिकामा जम्मा आय रुः४२,११,२२,९१० रुपैया र जम्मा व्यय ३४,९४,५०,७५४ रुपैया भएको बताए । गत बर्ष बिकास निर्माण तथा कार्यक्रमहरुको प्रगति ७९ प्रतिशत रहेको उनले जानकारी दिए । यसै गरि भौतिक पूर्वाधार तर्फ सडकहरुको मापदण्ड निर्धारण गरीएको बताए ।
मायादेवी गाउँ पालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाईमा २५ जना भन्दा बढी सहभागीले प्रश्न एवम सुझाव राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता देवी प्रसाद चौधरी, समाजसेवी हरिश्चन्द्र सिंह सैथवार, देवमणि त्रिपाठी, नेकपाका नेता शंकर ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार बिक्रम खडका र राधेश्याम विश्वकर्माले गरेका थिए ।