सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली द्धारा बुद्ध जयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा शुभकामना व्यक्त

प्रकाशित मिति:

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा शुभकामना दिनुभएको छ ।

विश्वभरिकै शान्ति, मानवता, सद्भाव, सहिष्णुता र मानवीय सुख चाहने सम्पूर्ण बौद्धमार्गी एवं अरु तमाम दिदीबहिनी तथा दाजुभाइहरु !चन्द्रपात्रोअनुसार वैशाख पूर्णिमाको दिनलाई हामीले सधैँ बुद्धजयन्तीका रुपमा मनाइरहेका हौं, मनाई आएका छौं । त्यसै दिन २६४५ वर्ष अघि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो । यद्यपि गौतम बुद्धको जन्म, बुद्धत्व रपरिनिर्वाण एकै तिथिमा भएको हुनाले २५६५औं जन्मदिन वा जन्मजयन्ती भनेर पनि आज मनाइँदै छ ।बुद्धका उपदेशहरु मानव जातिको हितमा, विश्व शान्तिको पक्षमा, अहिंसाको पक्षमा, हिंसा, अशान्ति, लडाइँ, द्धन्द्ध, झगडा, परस्परमा घृणा, द्धेष र नराम्रा सोंच र नराम्रा व्यवहारहरुका विरुद्ध भएको हुनाले यसलाई विश्वव्यापी रुपमा मानवीय आकांक्षाको रुपमा स्वीकाररेर संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि नै यस दिनलाई बेशाख डे का रुपमा मनाउँदै आएको छ । अर्थात, बुद्धजयन्तीको रुपमा मनाउँदै आएको छ ।

आज जतिबेला विश्व विभिन्न ठाउँमा तनावग्रस्त छ, द्धन्द्धग्रस्त छ वा द्धन्द्धका सम्भावनाहरुबाट त्रस्त छ । यस्तो अवस्थामा बुद्धका उपदेशहरु, बुद्धका सन्देशहरु र बुद्धको शान्तिवादी दर्शन, मानवतावादी दर्शन, यसको महत्व र सान्दर्भिकता कायम रहेको मात्रै होइन, अझ बृद्धि भएको छ ।आज मानव जातिलाई हरेक ठाउँमा शान्ति चाहिएको छ । मानव जातिकै कारणले शान्ति खलबलिने हो । मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासहरुबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न, शान्तिलाई दीगो बनाउन सकिन्छ । त्यसैकारण बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेशहरु अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेका छन् । आजको विश्वले यी कुराहरुलाई मनन् गर्नु र अगाडि बढ्नु आवश्यक छ ।अब सिद्धार्थ गौतम बुद्धको जन्मस्थानका बारेमा कुनै द्विविधा रहेन । यद्यपि यो फाइयानको समयमा पनि नरहेको,वेङसाङको भ्रमणका बेला पनि नरहेको, सम्राट अशोकको भ्रमण र उहाँले उहाँले खडा गरेका स्तम्भहरुको समयमा पनि नरहेको, तर बीचमा कतिपय कारणहरुले नेपाल जो बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्धदर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो। विभिन्न धार्मिक असहिष्णुता जस्ता कुराहरु, धार्मिक संकीर्णता जस्ता कुराहरुल बुद्ध दर्शनका विरुद्ध अनेक क्रियाकलापहरु भए र बुद्धका शान्तिका सन्देशहरुलाई यस धर्तीबाटै मेटाउन खोजिए । तर, बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखकानिम्तिको उज्ज्यालो मर्न सक्दैनथ्यो र मरेन । तसर्थ, फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नु प¥यो ? बुद्धका विभिन्न रिलिक्स अथवा अवशेषहरु तिनीहरुको खोजीको महत्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो ? यी सबै कुरा मानव जातिको आन्तरिक आकांक्षा अथवा शान्ति र सुखको आकांक्षाबाट यी कुराहरुको खोजी हुन थाल्यो । र, पछिल्लो समयमा आएर अब विभिन्न ठाउँहरुमा, विभिन्न स्थानहरुमा, विभिन्न देशहरुमा रहेका भ्रमहरु टुङ्गिएका छन् । र, यसरी अब बुद्धको जन्मस्थान नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा स्थापित भइसकेको छ ।

अझै पनि दुनियाँका कतिपय देशहरुका पाठ्यक्रमहरुमा यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पिढीलाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउने तर्फ, सत्य सिकाउने तर्फ रबालबालिकाहरुलाई सत्य कुरा अवगत गराउने दिशातर्फ म सबैको ध्यानकर्षण पनि गराउन चाहन्छु ।अब कुनै द्विविधा छैन कि बुद्धको जन्म लुम्बिनीमा भएको थियो र बुद्धवादको मुहान पनि त्यहीं थियो, जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराहरुबाट मुक्ति कसरी हुन्छ भन्ने कुराको खोजीमा दरवार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनु भएको थियो । त्यहंीबाट बुद्धका चिन्तनको मुहान शुरु हुन्छ । यसरी नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल हो। यी तथ्यहरुसम्म पु¥याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याई पु¥याउन योगदान गर्नुहुने इतिहासका सबै महान पात्रहरु र लुम्बिनीको विकासको सम्बन्धमा गुरुयोजना बनाउने टांगे लगायतका महानुभावहरु, यसलाई अन्तर्राष्ट्रियकरण गर्ने संयुक्त राष्ट्रसंघको विषय बनाउने र लुम्बिनीको विकासमा विशेष अभिरुचि राखेर योगदान गर्ने संयुक्त राष्ट्रसंघका तत्कालीनमहासचिवउथान्तलाई पनि म सम्मानपूर्वक स्मरण गर्न चाहन्छु । त्यसबेला केही प्रयासहरु भए र पछि फेरि शिथिल भए ।आज हामीले लुम्बिनीको विकासको प्रयासलाई फेरि अगाडि बढाएका छौं । लुम्बिनीको विकासका प्रयासहरु अहिले भर्खरै पनि, हालसालै पनि सिद्धार्थ गौतम बुद्धको बुबाको दरवार अथवा शुद्धोधनको दरवारको वैज्ञानिक जाँच र उत्खनन्का कार्यहरु हालै पनि भएका छन् । जमिनको एक्स–रे गरेर, जमिन मुनि कस्तो दरवारको भंग्नावशेष छन् भन्ने कुराहरु पत्ता लगाएर, त्यसको उत्खनन् गरिनेछ। ती कामहरु अत्यन्तै ऐतिहासिक महत्वका छन् । र, तिनको कुन समय थियो, त्यहाँभित्र प्राप्त भएका सामानहरु भन्ने कुराले पनि त्यो समयलाई देखाउँछ र यसअघि नै बुद्धकाल कुन थियो भन्ने अवगत हुन्छ ।यो कुरा त्यहाँका इँटालगायतका अन्य भंग्नावशेषले पनि देखाएका छन् । अहिले हामीले बुद्धको मावली घर, जन्मथलो, पिताको दरवार र रामग्रामको स्तुपा, जहाँ विश्वमा उत्खनन् नगरिएको एकमात्र बुद्ध अस्तु त्यहाँ छ, त्यस क्षेत्रलाई समेत लिएर बृहत्तर लुम्बिनी सर्किटको व्यवस्थापनगरिरहेका छौं ।

हामीले लुम्बिनीलाई फरक ढंगले विकास गर्नुपर्छ भनेर त्यसलाई नयाँ ढंगले फलफुल बगैंचाको रुपमा बृक्षारोपण गर्नेदेखि त्यहाँ पाँच हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र र ध्यानकेन्द्र निर्माण गर्ने काम गरिरहेका छौं । र, अहिले ध्यानकेन्द्र लगभग तयारी अवस्थामा पुग्न लागेको छ । त्यसभन्दा अगाडि नै वर्तमान सरकार बन्नेवित्तिकै हामीले त्यहाँ तीन हजार क्षमताको ध्यानकेन्द्र र सभाहल तत्काल निर्माण ग¥यौं र अब लुम्बिनीलाई हाम्रो इतिहासको गौरव, हाम्रो देशले विश्वमानव जातिलाई दिएको सन्देश, यी कुराहरुको सम्मान, स्मरण र धारण गर्दै अगाडि बढ्ने सन्दर्भमा महत्वपूर्ण कामहरु गरिरहेका छौं ।लुम्बिनी बौद्ध धर्मालम्बीहरुको एउटा तीर्थस्थल हो । विश्वभरिका बुद्धमार्गीहरु, शान्तिप्रति आस्था हुने व्यक्तिहरु, शान्तिका अनुयायीहरु र आकाङ्क्षीहरु सबैका निम्ति लुम्बिनी तीर्थस्थल हो । र, जीवनमा एकपटक लुम्बिनी आउने र सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हेर्ने, त्यो पवित्र धर्तीलाई स्पर्श गर्ने,त्यो मानवीय इच्छा पूरा गर्नका लागि पनि हामीले अनुकूल बनाउन आवश्यक थियो र छ । त्यसै सन्दर्भमा हामीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बौद्ध विमानस्थल, लुम्बिनी बौद्ध विमानस्थल भनेर निर्माण गरिरहेका छौें । अब त्यहाँबाट उडान संचालन गरेर सिधैँ विश्वका कुनै पनि देशका मानिसहरु सोझै लुम्बिनीमा आउने, त्यस पवित्रस्थलको दर्शन गर्ने र त्यहाँको वातावरणबाट शान्तिका निम्ति प्रेरित हुने, त्यसबाट आत्मिक, मनोवैज्ञानिक वा विचारधारात्मक सकारात्मक परिवर्तन लिने कामहरु गर्न सक्ने परिस्थिति हामी निर्माण गरिरहेका छौं ।

आज हामी यसरी एउटा भिडियो सन्देशमार्फत अथवा भिडियो सम्बोधनमार्फत वेशाख डे अथवा बुद्धजयन्ती मनाइरहेका छौं । हामीले सन् २०१९ मा भियतनाममा भएको अन्तर्राष्ट्रिय वेशाख डेमा भरसक अर्को वर्ष हामी वेशाख डे नेपालमा गर्न पाउँ, होइन बीचमा सम्भव भएन,त्यसमा अलिकति उहाँहरुका केही प्रचलनहरु पनि छन् । त्यसले गर्दा हामीले बीचमा नपाउने सम्भावना थियो ।त्यस्तो हो भने २०२१ मा नेपालले वेशाख डेको आयोजनागर्न पाओस् भनेर मैले आफ्नो मन्तव्य राख्दा त्यहाँ अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको थिएँ । र, वेशाख डे सम्बन्धी निर्णायक समितिका साथीहरु सबैसँग र त्यहाँ उपस्थित अन्तर्राष्ट्रिय समुदायसँग पनि मैले आग्रह गरेको थिएँ । त्यसका प्रमुख ब्रम्हपण्डितजी लगायत सबै साथीहरुसँग पनि मैले आग्रह गरेको थिएँ कि वेशाख डे नेपालमा मनाइयोस् । तर, आज हामी यसरी मनाउन बाध्य छौं कि अन्तर्राष्ट्रिय सम्मेलन खुलेर मनाउने होइन कि यसरी एउटा सन्देशमार्फत मनाउने अवस्थामाहामी पुगेका छौं आज कोभिड–१९ विभिन्न भेरियन्टका साथ नयाँनयाँ लहर सिर्जना गर्दै मानव जातिका सुख खोस्न एउटा भयानक चुनौतीका रुपमा उपस्थित भइरहेको छ । यतिबेला हामी यस महामारीको सामना गरिरहेका छौं र यो कार्यक्रम पनि हामीले यस रुपमा मनाउनु परिरहेको छ ।यतिबेला म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, हामी भयावह स्थिति भएपनि यसबाट आत्तिनु हुँदैन र नआत्तिनुको अर्थ असावधान हुनुहँुदैन । हामीले धैर्यतापूर्वक र सावधानीका साथ यस महामारीसँग मुकाविला गर्नुपर्दछ । यसलाई आपूmमा सङ्क्रमण हुन नदिने, अरुलाई पनि सङ्क्रमण नगर्ने, कतै सङ्क्रमणको स्थिति बन्न नदिने, त्यसका निम्ति सामाजिक दूरी कायम गर्ने लगायतका कुराहरुमा मास्क अनिवार्य प्रयोग गर्ने अथवा स्वास्थ्यसम्बन्धी, खानपिनसम्बन्धी र अन्य कुराहरुमा पनि उत्तिकै ध्यान दिने गर्नु आवश्यक छ । आफ्नो प्रतिरोध क्षमता वृद्धि गर्ने जस्ता कुराहरुमा पनि ध्यान दिन म सबैमा आग्रह गर्न चाहन्छु ।

हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेको बेला कोभिड–१९ को महामारीले हामीलाई हाम्रोगतिलाई, हाम्रो वेगलाई गम्भीररुपमा व्यवधान पु¥यायो । तर, हामी निराश हुनहुँदैन, निराश भएका छैनौं ।कहीँ पनि महामारीको सम्बन्धमा पूर्वतयारी हुँदैन । हामीले देख्यौं विकसित, सम्पन्न र सुविधासम्पन्न देशहरुमा पनि यससम्बन्धी भ्याक्सिन थिएन, यससम्बन्धी पूर्वतयारी पनि थिएन । महामारी भनेको यस्तै संकट खडा गर्ने स्वास्थ्यसम्बन्धी गम्भीर समस्या हो । जो अचानक, व्यापक रुपमा र भयावह ढंगले आइलाग्छ, तबन महामारी भनिन्छ । हाम्रोमा पनि त्यस्तै अवस्था थियोे । तर, हामीले विभिन्न उपायहरु, विभिन्न तरिकाहरुबाट यसको पहिलो वेभलाई सफतापूर्वक नियन्त्रण ग¥यौं । विभिन्न क्षेत्रका केहीकमिकमजोरी र केही बाध्यात्मक स्थितिहरुको कारणले दोस्रो वेभ फेरि आयो, जसलाई हामी अहिले अगाडि बढ्न दिइरहेका छैनौं, यसलाई रोकिरहेका छौं । र, यसलाई अब नियन्त्रणको दिशामा अगाडि बढ्ने स्थिति सिर्जना गरेका छौं । अब सिलिन्डरको कमी, अक्सिजनको कमीजस्ता कुराहरुकोअन्त्य गरेका छौं । अब भेन्टिलेटरको कमीजस्ता कुराहरुको पनिअन्त्य गरेका छौं । अब बेडहरुको कमी अन्त्य गरेका छौं ।स्वास्थ्य उपचारको सन्दर्भमा औषधि वा स्वास्थ्य उपकरणहरुको सन्दर्भमा कुनै कमी हुन नदिने कामहरु हामीले गरेका छौं । अब भ्याक्सिन हामीले शुरु गरेका छौं । दक्षिण एसियामा हामी भ्याक्सिन उत्पादक होइनौं । तर, भारतभन्दा पछि दोस्रो देश हामीहौं, जसले भ्याक्सिन शुरु ग¥यौं । अहिले महामारी दोस्रो लहर, तेस्रो लहर र विभिन्न भेरियन्टका साथ आएको हुनाले भ्याक्सिनको पर्याप्तता विश्वमा छैन । त्यो अपर्याप्तताको सामना पनि हामीलेगरिरहेका छौं । हाम्रा प्रयासहरु जारी छन् र हामीले भ्याक्सिन छिट्टै नै उपलब्ध गराउने छौं र आवश्यकमात्रामा भ्याक्सिनको अभियानलाई अगाडि बढाएर निकट भविष्यमा सम्पूर्ण जनतामा भ्याक्सिन पु¥याउने प्रयासमा जुटेका छौं । तसर्थ, सरकारका प्रयासहरुप्रति विश्वस्त रहन, यो महामारी हो, यो हामी सबैको साझा समस्या हो । यसकारण यसकाविरुद्ध लड्न सबै एकजुट हुनका लागि म सबैमा आग्रह पनि गर्न चाहन्छु ।

यस सन्दर्भमा, आजको विशेष दिनमा म फेरि एकपटक शान्ति, सद्भाव, करुणा, मैत्री र मानवताका निम्ति सिंगो अन्तर्राष्ट्रिय समुदायसमेत सबैमा धेरैधेरै नै हार्दिक आग्रह गर्न चाहन्छु । सबैमा धेरैधेरै शुभकामना ।
धन्यवाद ! (भिडियो सन्देशबाट)