युएईमा कार्यरत युवाद्वारा रामपुर नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति:

साउन २, पाल्पा । वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स युएई मा कार्यरत पूर्वी पाल्पाका नागरिकहरुको सहयोगमा रामपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बीच युएई मा कार्यरत नागरिकहरुको सहयोगमा पठाइएको ५-५ लिटरका चार थान अक्सिजन कन्सन्ट्रेटर रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा र स्वास्थ्य शाखा प्रमुख गिरिरााज घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख थापाले प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिलाई सम्झिदै कोभिड–१९ को महामारीलाई परास्त पार्न सहयोग गर्नुहुने पाल्पाली समाज युएईसँगै सहयोग अभियानमा साथ दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अक्सिजन कन्सन्ट्रेटर कोभिडको समयमा मात्र नभई पछि दमका रोगीहरुलाई समेत काम लाग्ने भन्दै स्वास्थ्य सामग्री आवश्यकता अनुरुप वितरण गरिने बताउनुभयो ।नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले सरकारको दायित्व विभिन्न संघ संस्था, व्यक्तिले गरिरहँदा कोभिड–१९ को महामारी न्यूनीकरणमा थप टेवा पुग्ने बताउनुभयो ।कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं रामपुर नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले कोरोना संक्रमित बिरामीको उपचारमा महत्वपूर्ण योगदान दिने स्वास्थ्य सामग्री सहयोग गर्ने हातहरुलाई धन्यवाद दिनुभयो ।

रामपुर नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष हिमाल मल्लले युएईमा कार्यरत पूर्वी पाल्पाका सहयोगी नागरिकहरुप्रति स्वास्थ्य सामग्री प्रदान गरेकामा कृतज्ञता व्यक्त गर्दै कोभिडको नयाँ भेरियन्ट डेल्टा भाइरस छिमेकी जिल्लाहरुमा फैलिसकेकाले पाल्पाबासीलाई थप सजगता अपनाउन अनुरोध गर्नुभयो ।पाल्पाली समाज यू। ए। ई। का कार्यकारी अध्यक्ष ओम कुमारी खाँणको सक्रियतामा राहत संकलन अभियान अन्तर्गत युएईको दुवईमा कार्यरत रामपुर नगरपालिका ४९ जना र निस्दी गाउँपालिकाका २ जना गरी जम्मा एकाउन्न जना नागरिकबाट संकलित जम्मा रु। २ लाख ५० हजारबाट उक्त ४ वटा अक्सिजन कन्सन्ट्रेटर २ लाख ४० हजार रुपैँयामा खरिद गरिएको थियो भने १० हजार ५ सय रुपैया पछिल्लो दुई महिनादेखि रामपुर अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामीलाई निशुल्क खाना खुवाउँदै आएको रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैलाई नगर प्रमुख थापाले हस्तान्तरण गर्नु भएको थियो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार सीता डोटेलले गर्नु भएको हो । युएईमा कार्यरत नेपालीहरुको तर्फबाट खगेश्वर बोटे पाल्पाली कान्छा, युएईमा कार्यरत लोकनाथ खनाल र पत्रकार गिरराज पाण्डे लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।