सफलताको लागी कानूनी शासन अपरिहार्य : यादव

प्रकाशित मिति:

भैरहवा । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले स्थानिय सरकार सफल हुन कानूनको शासन हुन अपरिहार्य रहेको बताएका छन् । कतिपय स्थानिय तहमा आफुलाई नै सर्वोपरि ठानी मनोमानी गर्ने परिपाटी रहेकोले त्यसलाई त्याग्दै कानून अनुसार हिडे मात्रै स्थानिय तह र त्यहाका स्थानियहरुको बिकास हुने यादवले औल्याएका हुन् ।

रोहिणी गाउँपालिकाले आयोजना गरेको २ दिने जनप्रतिनिधि तथा कर्मचारीहरुको लागी क्षमता अभिबृद्धि अभिमुखीकरण कार्यक्रमको समापन गर्दै यादवले कानूनको कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारी दुवैको सहकार्य उत्तिकै आवश्यक रहेको बताए । उनले स्थानिय सरकार आएको साढे ४ बर्षमा रोहिणी गाउँपालिकाले कर्मचारीहरुको सहयोग पाएको र आगामी दिनमा पनि यो सहयोग यसै गरि निरन्तर गर्न समेत आग्रह गरे ।बिशेष गरि कोभिड महामारीको समयमा कर्मचारीहरुले देखाएको कामको उनले प्रशंसा गरे । कोभिडको समयमा आफ्नो घरपरिवार छोडेर रोहिणी गाउँपालिकावासीको सेवाको कारणले उनिहरु प्रति गाउँपालिका कृतज्ञ रहेको उनले जनाए ।

संघिय सरकार, प्रदेश सरकारले समय समयमा आफ्ना निति नियम परिवर्तन र अद्यावधिक गर्ने कारण सो निति नियम बारे जनप्रतिनिधि तथा कर्मचारीहरु पनि अद्यावधिक हुन आवश्यक रहेकोले यिनिहरुको क्षमता अभिवृद्धिमा पालिकाले लगानी गरेको यादवले जनाए ।यस्तै कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले संविधानले शासन चलाउने क्षमता, कानून बनाउने क्षमता र कार्यान्वयनकोको अधिकार दिएको बताए । उनले संविधानले स्थानिय सरकारलाई २२ वटा एकल अधिकारहरु प्रदान गरेको बताए । यस्तै प्रदेश, संघ र स्थानिय तह बिचको साझा अधिकार भनेर पनि बिभिन्न साझा अधिकारहरु प्राप्त भएको उनले जनाए । उनले स्थानिय सरकार कानून बनाउने र कानून अनुसार चल्ने दुवै रहेको जिकिर गरे ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजन, बिभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यको साथै गाउँपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो । अभिमुखीकरण कार्यक्रमलाई गाउँपालिकाका कानूनी सल्लाहकार सुनिल त्रिपाठीले सहजीकरण गरेका थिए । कार्यक्रम रोहिणी गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रले सञ्चालन गरेका थिए ।