मलावरदेबी दुग्ध उत्पादक सहकारीको सार्वजनिक सुनुवाई

प्रकाशित मिति:

५ असोज, कञ्चन-मलावरदेबी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड,कञ्चन ३ रुपन्देहीले बिहिवार सार्वजनिक सुनुवाई गरेको छ। नेपाल सरकार, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय,नेपाल लाईभ स्टक सेल्टर इनोभेसन आयोजनाबाट प्राप्त अनुदानको योजना, लक्ष र प्राप्त गर्ने उद्धेश्यका बारेमा सो सार्वजनिक सुनुवाई गरेको हो । स्वच्छ दुध उत्पादन तथा बिक्री वितरण कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रममा कञ्चन गाउपालिकाका अधयक्ष गोकर्ण बहादुर क्षेत्रीले ब्यबसायिक रुपमा पशुपालन गर्दै आएका कञ्चनका किसानहरुलाई अनुदानको ब्यबस्था गरिएको बताउनु भयो । कोभिड १९ का कारण दुध उत्पादन र बिक्रीमा समस्या झेल्दै आएका किसानहरुलाई गत बर्ष राहतको ब्यबस्था गरिएको र जुनसुकै परिस्थितिमा पनि दुध बिक्री नभएर खेर जान नदिन दुधजन्य परिकारहरुको उत्पादनर्ला बृद्धि गर्न थप औजारहरु समेत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले पशुलाई दिइएने खोपको ब्यबस्था समयमै गरिने प्रतिबद्धता ब्यक्त गर्दै कञ्चनका हरेक सहकारीहरु शेयर सदस्यप्रति जिम्मेवार भई पारदर्शी रुपमा संचालन भइरहेकोमा बिश्वास ब्यक्त गर्नु भयो । काम र योजनाको आधारमा सहकारीहरुलाई स्थानिय,प्रदेश र संघिय सरकारबाट लक्षित योजनाका अनुदानहरु प्राप्त हुने भएकोले योजनाबद्ध रुपमा कार्यक्रमहरु निर्माण गर्न कञ्चनका सहकारीहरुलाई प्रमुख प्रशासकिय अधिकृत बस्नेतले आग्रह समेत गर्नु भयो ।किसानहरुको तर्फबाट मधु पौडेलले किसानहरुले गरेको मेहनत अनुरुप उत्पादित दुधको मुल्य समायोजन नहुनुले अझै पनि कुनै सरकार किसानमैत्री नभएको गुनासो गर्नु भयो । गाई भैसीमा लाग्ने बिभिन्न रोग बिरुद्धका खोपहरु समयमै उपलब्ध नहुदा किसानहरुले ठूलो क्षति ब्यहोर्नु परेको र पशु बिमा समेत किसान मैत्री नभएको भन्दै बिमा ब्यबस्थामा सुधार गर्नु पर्ने माग समेत किसान पौडेलले आग्रह गर्नु भयो ।

सहकारी सञ्जाल,कञ्चनका अध्यक्ष राधिका चौधरीले राज्यले जसरी गाई भैसी पालक किसानहरुलाई दुधमा अनुदान दिदै आएको छ त्यसरी नै बाख्रा पालक, कुखुरा,हाँस पालक किसानहरुलाई पनि उत्पादनको आधारमा अनुदानको ब्यबस्था गर्नु पर्ने माग गर्नु भयो । अध्यक्ष चौधरीले संघ र प्रदेशले नगरे पनि स्थानिय सरकारले बाख्रा पालक, कुखुरा,हाँस पालक किसानहरुलाई अनुदान दिने ब्यबस्था गर्न कञ्चन गाउपालिका समक्ष आग्रह गर्नु भयो ।कार्यक्रममा नेपाल लाईभ स्टक सेल्टर इनोभेसन आयोजनाका प्रतिनधि शान्ता पौडेलले मलावरदेबी सहकारीले ग्रामिण क्षेत्रमा दुग्ध उत्पादक किसान केन्द्रित कार्यक्रमहरु संचालन गरेको सोही योजनालाई अझ प्रभावकारी किसानमैत्री बनाउन नेपाल लाईभ स्टक सेल्टर इनोभेसन आयोजनाले मलावरदेबीसंग ५०र५० प्रतिशत अनुदानमा योजना संचालन गरिएको बताउनु भयो ।

कार्यक्रमको उद्धेश्य र औचित्यता बारे जानकारी गराउदै मलावरदेबी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शसीधर सापकोटाले नेपाल लाईभ स्टक सेल्टर इनोभेसन आयोजनाबाट ५०र५० प्रतिशत लागत सहभागितामा करिब २ करोड अनुदान प्राप्त भएको बताउनु भयो । उक्त कार्यक्रम अन्तर्गत किसानहरुको २५ वटा गोठ निर्माण, २५ थान चाट कटर र २५ थान म्याट खरिद गरीने र आयोजनाबाट छनौट भएका २५ किसानहरुका लागि ७५ वटा गाई र २५ वटा भैसी उपलब्ध गराईने सहकारीका अध्यक्ष सापकोटाले बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका प्रतिनिधी दुर्गा प्रसाद ढकाल, नेपाली कांग्रेसका देबीराम रेग्मी, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दिनानाथ आचार्य, मलावरदेबी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष पुष्पाराज शर्मा लगायतले आयोजनाको सफलता र किसानमैत्री हुनेमा बिश्वास ब्यक्त गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।