९ कार्तिक, कञ्चन- रुपन्देहीको कञ्चन गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने प्राबिधिकहरुको २ थान क्यामेरा चोरी भएको छ। कञ्चन -४,अस्नैयामा राष्ट्रिय परिचय बनाउने केन्द्र रहेको रुद्रपुर माध्यमिक विद्यालयबाट गए राती सोमवार करिब ७३० बजेको समयमा क्यामेरा चोरी भएको हो।
ईलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार त्यस विद्यालयका रात्री कालिन चौकीदार हेमलाल रानाले आफु घर खाना खान गएको समयमा चोरी भएको हुनसक्ने अनुमान गरेका छन। राष्ट्रिय परिचय पत्र बनाउने क्यामेरा चोरी भएको भन्ने हिजो राती नै थाहा भएपनि चौकीदार रानाले सम्बन्धीत कर्मचारी तथा सुरक्षा प्रशासनलाई जानकारी नदिई आज बिहान ७ बजेतिर चौकीदार रानाले राष्ट्रिय परिचय पत्र बनाउन आएका कर्मचारीहरुलाई जानकारी गराएका थिए।परिचय पत्र बनाउने सामानहरु भएको कोठाको ढोका फोडी क्यामेरा चोरी भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देबेन्द्र कुमार मल्लले जानकारी दिएका छन।
अहिलेको बजार मूल्य अनुसार ती दुई क्यामेराको मूल्य करिब १ लाख ३० हजार रुपैया पर्दछ । चोरहरुले क्यामेरा बाहेक अन्य सामाग्रीहरु २ थान ल्यापटप, क्यामेरा स्ट्याण्ड, फिंगर प्रिन्ट लगायत भने चोरी नगरेको ईलाका प्रहरी कार्यालय,रुद्रपुरले जनाएको छ।











