किसानलाई अनुदानमा गहुँको बीउ वितरण

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ, २५ कात्तिक- स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम आवेदन दिएका किसानहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ उपलब्ध गराएको हो ।

नगरपालिकाले कृषिका क्षेत्रमा समयानुकुलका बीउ, बीजन, औजार, उपकरणहरु, कीटनाशक औषधिहरु उपलब्ध गराउँदै आएको र त्यसैलाई निरन्तरता दिंदै गहुँको बीउ उपलब्ध गराईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम माग गरेका समूह, सहकारी तथा ब्यक्तिहरुलाई ढुवानीसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।पहिलो चरणमा ४३ क्वीन्टल बीउ उपलब्ध गराएको छ भने दोस्रो चरणमा १७ क्वीन्टल बीउ उपलब्ध गराउने तयारी भईरहेको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताउनुभयो ।