राममणि क्याम्पसको थप विकाशका लागि आफू सहयोग गर्न तयार रहेको मन्त्री बसिउद्दिनको भनाई

प्रकाशित मिति:

लुम्विनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री बसिउद्दिन खाँले शहरभन्दा बाहिरबाट राष्ट्रिय प्रतिस्पर्धामा अब्बल बन्न सफल राममणि क्याम्पसको थप स्तरोन्नति गरिनुपर्ने बताउनुभएको छ । साथै, क्याम्पसको थप विकाशका लागि आफू सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।क्याम्पसको ३४ औं वार्षिकोत्सवको आज (बिहीबार) उद्घाटन गर्दै मन्त्री खाँले उच्च गुणस्तरका कारण लुम्बिनी प्रदेशको गहनाका रूपमा राममणि स्थापित भएको बताउनुभयो

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य रमा अर्यालले नेपालकै उदाहरणीय मध्ये एक क्याम्पसका रूपमा परिचित भएकोमा राममणिप्रति गर्व लागेको बताउनुभयो । भने, सभाध्यक्ष पाठकले क्याम्पसको विकाशबाटै न्यून आय भएका मानिसले गुणस्तरीय शिक्षा मार्फत् प्रगति गर्न सकेको उल्लेख गर्नुभयो ।वार्षिकोत्सवका अवसरमा सार्वजनिक सूचना एकाइ समितिले प्रकाशन गरेको गोपाल पन्थीद्वारा सम्पादित वार्षिक मुखपत्र “दीपिका”कोे सत्रौं अंक विमोचन गरिएको थियो ।

कार्यक्रममा, वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले क्याम्पसको उत्साहजनक प्रगतिसँगै केही चुनौतीहरू समेत रहेका बताउनुभयो । क्याम्पस स्तरोन्नतिका योजना प्रस्तुत गर्दै उहाँले सामुदायिक सक्रियता समेत अत्यन्तै जरूरी रहेको बताउनुभयो ।क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको वार्षिकोत्सव कार्यक्रमका वक्ताहरूले तिलोत्तमा नगरको विशिष्टतामा राममणि क्याम्पसको समेत योगदान रहेको उल्लेख गरेका थिए ।कार्यक्रममा बोल्दै क्याम्पसका आजीवन सदस्य क्याप्टेन प्रेमबहादुर भण्डारीले एकलाख एकहजार रूपियाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने उद्घोष गर्नुभएको थियो ।

सो अवसरमा पशुपति कलेजका प्रमुख कृष्णप्रसाद शर्मा, शान्ति नमूना मा.वि. का अध्यक्ष शरद भट्टराई, गीर्वाण मा.वि.का प्रधानाध्यापक केदार पराजुली, नेपथ्य कलेजका प्रमुख सञ्जीव भण्डारी, नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष बेलप्रसाद शर्मा, सञ्चालक समितिका पूर्व सदस्य मनोरमा शेरचन, पूर्व क्याम्पस प्रमुख टेकराज अर्याल, प्राध्यापक संघका सभापति राजेन्द्र थापामगर, कर्मचारी संघका सभापति अम्बिका न्यौपाने, विद्यार्थीहरू प्रकाश भुर्तेल, समीक्षा ज्ञवाली लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा वार्षिक कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीहरू मञ्जु अधिकारी र दुर्लभ तिवारीलाई दोसल्ला एवम् ताम्रपत्र सहित सम्मानित गरिएको थियो भने वार्षिक शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार, पदक तथा प्रमाणपत्र सहित सम्मानित गरिएको थियो ।विद्यार्थीका गीत, कविता, गजल तथा साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको कार्यक्रम क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धु्रवकुमार धितालले समापन गर्नुभएको थियो ।