बर्दघाट मेलामा आज प्रकाश सपुत र प्रिती आलेले दर्शकलाई नचाउंदै

प्रकाशित मिति:

बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा जारी पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा आज चर्चित कलाकार प्रकाश सपुत, प्रिती आले लगायतका कलाकारको प्रस्तुति रहने छ । बर्दघाट मण्डपमा जारी मेलाको चौथो दिन आज लोक दोहोरी क्षेत्रका चर्चित र लोकप्रिय गायक मोडल प्रकाश सपुतसंगै प्रिती आलेको दोहोरी ब्याटलले दर्शकलाई भरपूर मनोरन्जन दिलाउने आयोजकले बताएका छन् ।

कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालित मेलामा आज प्रकाश र प्रितिसंगै लोक गायक मिलन सापकोटा र राम श्रेष्ठ तथा गायिक बबिता बोहराको पनि प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक खुमन बस्यालले बताए ।
मेलामा आज पनि बर्दघाट डान्स आइडलका प्रतियोगीहरुको प्रस्तुति रहने छ भने टिकटक प्रतियोगिता, सेल्फी जोनमा फोटो खिच्ने,बाल उद्यान पनि आकर्षणको रुपमा रहने छन् । स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहेका मेलामा कृषिलाई प्राथमिकता दिइएको छ ।

व्यापार मेलामा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार गर्ने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन एवं कला संस्कृति,परम्पराको संरक्षणसमेत गर्ने उद्देश्यले मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू पनि रहेका संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको छ । मेलामा कैलाश पर्वतमा भगवान शिव रहेको मुर्ति पनि राखिएको छ ।मेलामा हरेक दिन दर्शकको उपस्थिति बढ्दै गएको आयोजकले बताएएका छन् ।