बुटवलको बाटोमा एमालेको फण्डा : काँग्रेसलाई अपजस दिएर जोगिन खोज्दै एमाले

प्रकाशित मिति:

बुटवल । अहिले बुटवलको मुख्य सडक निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भएको पाइन्छ।
टिप्पणी गर्नेहरू मध्ये एक पक्षले बुटवलको बाटो नबन्नुमा नेपाली काँग्रेसका समर्थकहरूको हात रहेको बताएका छन् भने अर्को पक्षले बुटवलको बाटो बनाउन नगरपालिकाले चासो नदिएको बताइरहेका छन् ।

बाटो नबन्नुमा जो जसको भूमिका रहे पनि यो मूल वाटोका कारण बुटवलका जनताले निकै सास्ती पाई रहेका छन् भने बाहिर वाट आउनेहरूमा पनि बुटवलको सुन्दरता प्रति नकारात्मक छाप बसेको अवस्था छ । नेपाल सरकारले भारतीय सीमा नाकासँग जोडिएका केही बाटोहरूलाई छनौट गरी व्यापारिक मार्ग विस्तार आयोजनाको नाममा बाटो फराकिलो गर्ने कार्यक्रम अगाडि ल्याएपछि वीरगन्ज–रक्सौल, रुपौडिया-कोहलपुर, रानी-विराटनगर आदिसँगै सुनौली-बुटवलको सडक विस्तार गर्ने काम पनि अगाडी बढेको हो । सुनौली- बुटवल सडक खण्ड विस्तार गर्ने कार्यक्रम अनुसार सुरुमा सुनौली देखि बुटवलको राजमार्ग चौराहासम्म मात्र काम गर्ने गरी ठेक्का लगाइएकोमा पछि त्यो बाटोलाई बुटवलको गोल पार्क चिडिया खोलासम्म फराकिलो गराउने गरी काम अगाडी बढाइएको हो ।

विवादको चुरो-सुरुमा यो राजमार्गलाई ७५ फुट कायम गरिएको थियो । सडक वारिपारि बनाइएका घरहरूलाई ७५ फुट छोडे पछि नगरपालिकाले नक्सा पास गर्ने गरेको थियो । तर उक्त आयोजनाले बाटो विस्तारको लागि वाटोको चौडाइ ८२ फुट कायम गर्‍यो र अहिले त्यहाँ घर बनाउँदा १०५ फुट छाड्नै पर्ने व्यवस्था गरिएको छ ।फराकिलो वाटोले गर्दा बुटवलको सौन्दर्य र सहज आगवनका लागि फाइदा त पुग्छ नै तर बाटो वरिपरि नयाँघर बनाउन खोज्नेहरूका लागि अहिले पनि त्यहाँ जग्गा पुग्ने अवस्था नदेखिने हुँदा पुरानो घर भत्केको खण्डमा उठीबास हुनु बाहेक त्यहाँ अर्को विकल्प देखिँदैन ।

काँग्रेसलाई अपजसको भारी बोकाएर तर्किन खोज्दै एमाले- सडक विभागले सो बाटो निर्माणको लागि प्रक्रिया सुरु गरेपछि बाटो वारिपारि रहेका ३८४ घरधुरीले बाटो निर्माणको काम रोक्न भन्दै सुरुमा आयोजनामा निवेदन दिएका थिए । तर उक्त आयोजनाले सडक विस्तारको काम नरोक्ने बताए पछि उनीहरू पुनरावेदन अदालत बुटवल पुगे ।बुटवल अदालतले पनि उनीहरूको साथ नदिए पछि ती मध्येका ५६ जना सर्वोच्च अदालत गए, तर सर्वोच्च अदालतले पनि उनीहरूलाई साथ दिएन ।अन्त अहिले आएर बाटो निर्माणको प्रक्रिया सुरु भएको अवस्था छ । मुद्दा मामिलाका कारण करिब ३ वर्ष बाटो निर्माणमा अवरोध भएको सत्य हो ।सडक विस्तारको काम सुरु हुने कुराको सूचना पाउँदासाथ वकिल बोकेर अदालतमा मुद्दामामिला गर्न जाने व्यवसायीहरु हुन् । त्यसमा एमालेका हालका मेयरका उम्मेदवार बाबुराम भट्टराईसहितको टोली मुद्दामामिला गर्न गएका हुन् । खेलराजले समस्या समाधान गर्न माग गर्नुबाहेक मुद्दामामिलाका काममा जाने कुरा पनि भएन । उनी त्यसमा कहीँकतै संलग्न छैनन् ।

तर करिब ३ वर्षसम्म कामै हुन नपाएको बारेमा भने कुरा उठ्दैन र उठाइँदैन ।ठेक्का सुरु भएलगत्तै मुद्दामामिला सुरु भएको र करिब तीन वर्षसम्म काम अवरुद्ध भयो । यसमा एमाले नेताहरुले के गरे ? बाटो बन्नुपर्छ भनेर कहिले लविङ गरे ? लामो समयपछि सर्वोच्च अदालतले २०७७ पुस २० गते काम कारबाही अगाडि बढाउन आदेश जारी गरेपछि विस्तारको काम अगाडि बढाउने बाटो खुल्यो । तर, निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा कामले रफ्तार लिन सकिरहेको छैन । एमालेका उपाध्यक्ष तत्कालीन अर्थमन्त्री रहेको बेला विष्णु पौडेलले १ वर्षमा बाटो बन्छ भनेर भनेका हैनन् ? उनीनिकट ठेकेदारलाई नै ठेक्का दिएर काम थाल्ने भनिएकोमा अहिले लेनदेन नमिलेर काम अघि बढ्न नसकेको कुरा कसरी झुटो हो ? त्यसको दोषी काँग्रेस हो त ? नेकपा एमालेबाट निर्वाचित नगर प्रमुख शिव सुवेदीले सार्वजनिक कार्यक्रममा बारम्बार काँग्रेसले मुद्दा हालेका कारण बाटो बन्न नसकेको भनेर आरोप लगाउँदै आएको पाइन्छ । सत्यता नबुझी त्यसैमा हो मा हो मिलाउँदै आउने उनका संयौ कार्यकर्ता पनि देखिन्छ । के बाटो विस्तार गर्दा घर नभत्काउन निवेदन दिने ती ३८४ घरधुरीका मालिकहरू सबै काँग्रेस मात्र हुन ? त्यसमा कांग्रेसको संलग्नता कहाँ देखिन्छ ? निवेदनमा हस्ताक्षर गर्ने अहिलेका एमालेबाट मेयरका उम्मेदवार भएका बाबुराम भट्टराई पनि काँग्रेस हुन ? राम प्रसाद खरेल, दधिराम खरेल, हरि पोखरेलहरू पनि काँग्रेस हुन ? अनि मुद्दा लिएर सर्वोच्चमा पुग्ने सबै ५६ जना पनि काँग्रेस हुन ?

खेलराजमाथि आक्रमण किन ? सडक बिग्रिएपछि त्यसको जवाफ स्थानीय सरकारले पनि दिनुपर्ने हो । स्थानीय सरकार जनताको गुनासो सुन्ने पहिलो सरकार हो । घरगाउँको सरकार हो । तर बुटवलले हाम्रो सडक हैन भनेर उम्किन खोज्यो । पटक पटक गुनासो लिएर गएका जनतालाई मेयरले हप्काएर पठाए ।अर्को कुरा सोही सडकको तिलोत्तमा क्षेत्रमा बाटो ठीकठाक छ । त्यही बाटो देखाएर त्यहाँका मेयरले प्रशंसा पाइरहेका छन् । उनले आफ्नो ठानिरहेका छन् । तर बुटवलमा गुनासो पनि सुन्ने काम भएन । जनप्रतिनिधि या राजनीतिक दलका नेता भएपछि जनताका सही या गलत जस्तोसुकै माग वा गुनासो सुन्नुपर्छ र निकास दिनुपर्छ । खेलराजले त्यही गरेका हुन् । उनले स्थानीयका कुरा सुनेर समाधानको पहल गरेका हुन् । त्यसमा उनी एक्लै थिएनन् । बुटवलका सबै राजनीतिक दलहरु एकैठाउँ थिए । अहिले दोष खेलराजलाई मात्रै दिएर आफु उम्किन खोजिरहेको छ एमाले । अनौठो कुरा त के छ भने एमालेबाट अहिले मेयरको उम्मेदवार बनेका बाबुराम भट्टराईले आफु मेयर भएलगत्तै बाटो पक्की गर्न आश्वासन बाँड्दै हिडेका छन् ।हालका मेयर सुवेदीको कुराअनुसार सडक बनाउन मिल्दैन । तर मेयरका उम्मेदवार भट्टराईका अनुसार बनाउन मिल्छ ? यो कुरामा पनि मतदाताले हेक्का राख्नुपर्ने कुरा हो । यदि गर्न मिल्ने हो भने किन सुवेदीले बनाएनन् ? मिल्दैन भने भट्टराईले किन बनाउँछु भनिरहेका छन् ?

एमालेकै नेताहरुबाट यसरी दुईअर्थी र भ्रममा पार्ने कुरा आइरहेका छन् । उनीहरु सकेसम्म जनतालाई भ्रममा राख्न चाहन्छन् ।
अर्को कुरा, बुटवलसमेत निर्वाचन क्षेत्र रहेको रुपन्देहीको २ नम्बरबाट एमालेका अहिलेका उपाध्यक्ष विष्णु पौडेलले पटक पटक चुनाब जिते । यो सडक बनाउने वाचा गरेर अघिल्लो चुनाब जितेका थिए ।उनीसहित प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ पनि यही निर्वाचन क्षेत्रका हुन् । उनीलगायत एमाले नेताहरु बाटो बनाउनुपर्छ भनेर त्यसबेला किन बोलेनन् रु केही व्यवसायीहरु त यी नेताहरुकहाँ पैसाको बिटो लगेर बुझाउन गएका थिए ।त्यसमा खेलराज पाण्डेको दोष कहाँनेर रह्यो ?  स्थानीयले समस्या पर्‍यो समन्वय गरिदिनुपर्‍यो भनेर भनेपछि एकजना पार्टीको नेताको हैसियतमा छलफलका लागि जानु अस्वभाविक हो ?

नेपाली काङ्ग्रेसबाट बुटवलमा उम्मेदवार बनेका खेलराज पाण्डेले उनले बाटो बन्न हुँदैन भनेका थिएनन् । स्थानीयका समस्या सुन्नुपर्छ भन्ने कुरा गरेका थिए । त्यसमा बाटो नबनाउँ भन्ने कुरा कसरी जोडियो ? बरु बुटवलमा बाइपास रोड र फ्लाईओभरको सम्भावना अगि सारेका थिए । यसबिचमा यही सडक विस्तारको विषयलाई लिएर कति भेला भए, पत्रकार सम्मेलन पनि भए, के ती कार्यक्रममा खेलराज पाण्डे मात्र सहभागी भएका थिए ? यदि यो अभियानको दोषी काँग्रेस र काँग्रेसी नेता खेलराज मात्र हुन भने सडकका विषयमा संयुक्त विज्ञप्ति निकाल्ने एमालेका तत्कालीन बुटवल नगर संयोजक ऋषि पाण्डे र उनको पार्टी एमाले कसरी निर्दोष हुन सक्छ ? चुनावको बेलामा हिलो छ्याप्न जसले पनि सक्छ तर अरूलाई आक्षेप लगाउनु अगाडि ऐनामा आफ्नो अनुहार पनि हेर्ने की ?