जेठ २० देखि ट्रक घर र ग्यारेजमा थन्काउने लुम्बिनी प्रदेशका ट्रक व्यवसायीको घोषणा

प्रकाशित मिति:

बुटवल/सरकारले समायोजन गरी तोकेको भाडा दर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सरकारले तोकेको भाडा दर व्यवहारमा पाउंनु पर्ने भन्दै यही जेठ २० गतेदेखि ट्रकहरु घर र ग्यारेजमा थन्काई ढुवानी कार्य रोक्ने निर्णय गरेका छन् ।एकातर्फ भारतीय ओभरलोडका गाडीहरुले नेपाली यातयात व्यवसायी मारमा परेका छन भने अर्कोतर्फ उचित भाडादर असुली नहुदा पेशा नै संकटमा परेको गुनासो व्यवसायीले गदै आएका छन ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाईमा लुम्बिनी प्रदेका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडा दर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरुले शनिवार एक कार्यक्रम गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन । आन्दोलनका कार्यक्रमसंगै व्यवसायी संस्थाहरुले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसंग पनि सहकार्य गर्ने निर्णय गरी अघि बढेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताउनुभयो ।

उहाँले ट्रक व्यवसायीहरुको पेशा रेड जोनमा पुगेकोले बाध्य भएर व्यवसायीलाई बचाउनका लागि आन्दोलनमा जान परेको गुनासो गर्नु भयो ।राप्ती ट्रक व्यवसायी समितिका प्रशासनिक सचिव उमेश मजगैयाले भाडा दर कार्यान्वयन नहुंदा ट्रक व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताउनु भयो ।उहाँले ढुवानी व्यवसायीहरुले सहयोग गरेमा सरकारले तय गरेको भाडा असुलीमा सहयोग हुने धारणा राख्नु भयो ।कार्यक्रममा बाणगंगा ट्रक समितिका सचिव लक्ष्मण भुसालले सरकारले तोकेको भन्दा कम दर रेटमा ढुवानी गर्ने ट्रान्सपोर्ट व्यवसायीलाई वहिस्कार गर्नुपर्ने धारणा राख्नुभयो ।
ढुवानी व्यवसायी संघ बुटवलका अध्यक्ष श्याम हमालले सरकारले पटक पटक समायोजन गरेको ढुवानी भाडा दर कार्यान्वयन नहुंदा व्यवसायी मर्कामा परेको बताउनुभयो ।
सरकारले आफैले तोकेको भाडा दर कार्यान्वयन नहुंदा व्यवसायी मर्कामा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरि कडेलले बताउनु भयो ।