बर्हिगमनमा झरेका झाँक्रीमा ती आँशु

प्रकाशित मिति:

प्रेम पुन्थोकी

शेर बहादुर देउवा नेतृत्वको सरकारको साझेदार नेकपा (एकिकृत समाजवादी) ले आफ्ना मन्त्री हेराफेराको सन्दर्भ उक्काए देखि नै चर्चा चुलिएको छ । त्यस माथि मन्त्रीहरुले राजीनामा दिँदा गरेको पत्रकार सम्मेलन र त्यो मेलोमा मन्त्रीले देखाएका व्यवहार त झनै चर्चामा आए ।

त्यसै मध्ये एउटा हो, शहरी विकास मन्त्री राम कुमारी झाँक्री पत्रकार सम्मेलनै रोएको कुरा । मैले झाँक्रीको नाम बढी सुनेको , अखिलको अध्यक्ष बनेपछि हो । उनीसँग सामान्य चिनजान पनि कहिल्यै भएन, नजिक रहने अवसर मिलेन तर मेरै छिमेकी जिल्लाबाट सामान्य भन्दा सामान्य परिवारको एउटी केटीले त्यो राजनीतिक उचाइले मलाई लोभ्याई रह्यो ।

भुइँ मान्छेका माथि पुग्ने सपना कमै हुन्छन् , अपवाद बाहेक उनीहरू संघर्षले नै स्थापित हुने हुन् अवसर तिनै त्याग र संघर्षले थप्ने हो । मैले बुझेको र सहजै अनुमान गर्ने कुरा झाँक्रीको बाटो त्यही हो, थियो ।

पहिलो पटक मन्त्री बन्न पाएकी झाँक्री राजीनामा दिने बेला रोएर बिदा हुँदा सामाजिक सञ्जाल असामाजिक तरिकाले खनिए , प्राय सबैको टिप्पणी थियो ः मन्त्री छाड्दा रोइन् । उनलाई टासिएर रहनु थियो ।

उनी मन्त्री छाड्न पर्दा नै रोएको हो तर तपाईंले गिज्जाए जस्तो हल्का रुवाई थिएन कि ? यसमा मेरा केही तर्क छन् :

  • झाँक्रीको पार्टी ओलीले संसद विघटन गरेपछि जन्मिएको हो, अर्थात ओलीले संसद र सरकारमा स्थिरता नचाहेपछि उनको समूहले विद्रोहको आँट गरेको हो । राजनैतिक स्थिरता र संसदीय प्रणालीलाई जिउँदो राख्ने उनको ध्येयलाई स्वीकार्ने कि नाई ?
  • झाँक्री कसैले टपक्क टिपेर लगेर मन्त्री बनेकी होइनन्, उनले मन्त्री बन्ने क्षमता राख्छिन्, संसदीय प्रकृया अनुसार मन्त्री बनेकी हुन् । तर तर्क त यहाँ उनी कहिल्यै नपुग्ने ठाउँ र नपाउने पद पाए जस्तो विश्लेषण पो भो त गाँठे ।
  • उनी यो व्यवस्था ल्याउनको लागि पछिल्लो पुस्ताका नेताहरु मध्ये टाउको फुटाउने गरि ज्यानको बाजी थापेर लागेकी नेतृ हुन् । टाउको फुट्दा नरोकिने र नरुने झाँक्री मन्त्री छाड्नु पर्दा उनकै व्यक्तिगत स्वार्थको लागि बगेका हुन् भनेर मैले कसरी विश्वास गरुँ ?
  • तपाई मान्नुस् नमान्नुस् जिम्मेवारी पाएपछि केही गर्नुपर्छ भन्ने हुटहुटी उनमा थियो । आफ्नै आँट, बल, त्यागले ब्राण्ड बनेकी झाँक्रीलाई मन्त्री बन्ने नाममा गाडीमा झण्डा हल्लाएर मात्रै मर्नु थिएन । सबैले आशा, भरोसा र विश्वास साँधेकी उनी पहिलो परीक्षणमै पाएँ त खाँएको शैलीमा हिँड्ने उनको उद्धेश्य थियो भन्ने लाग्छ भने त्यो तपाईको पूर्वाग्रह बाहेक केही होइन ।

किन रोइन त ?

ननिधाएरै निधाएको बाहाना गर्नेले के स्वीकार्लान तर आफू रुनुको कारण बोकेर झाँक्री फेरि कतै आउलिन् तर उनी रुनुको कारण यी मध्ये केही हुन सक्लान् :

  • उनी जीवनमा मन्त्री बनेको इतिहास बोक्न मात्रै मन्त्री बनेकी होइनन्, मन्त्री बने पछि राम्रो छाप छोडुँ भन्ने लागेको थियो होला तर कार्यकालमा उल्लेखनीय काम गर्न सकेन भने जस्तो लागेर पो रोइन् कि ?
  • आफूलाई भ्रखर मन्त्रालयलाई लयमा लैजाँदै गरेको अवस्था थियो, केही समय काम गर्न पाएको भए साँच्चै देखिने काम हुने थियो तर पाइन साह्रै पीडा भयो भन्ने भो कि ?
  • आफू राजनीतिक स्थीरताको कुरा गर्ने, यही मेलोमा पार्टीमा बिद्रोह गर्ने तर लास्टाँ भागशान्तिमै सरकारमा रहेका दलहरु लगे पछि उनलाई आफूहरु सही बाटोमा रहेनौं भन्ने भयो कि ?
  • उनकै पार्टी पनि उनलाई फरक खालको बनाउने सपना थियो होला तर अन्य दलमा भन्दा बढी भाग खोज्ने संसद आफ्नो पार्टीमा हुँदा आफ्नै दल भित्रको तिक्तता कारण थियो कि ?
  • आफै सर्वेसर्वा भएका ओलीलाई छिर्के हानेर हिँडेकी उनी अहिले आफूले नेता मानेका माधव नेपाल, झलनाथ लगायतका नेतामा त्यो भन्दा गए गुर्जेको शैली देखेर चित्त दुखाई भएको हो कि ?
  • कतिपय अवस्थामा मानवीय स्वाभावले पनि काम गर्छ उनी भावनामा बगेर आफूले काम गर्ने जिम्मेवारी पाएको मन्त्रालयलाई छाड्दा सामान्य स्वाभावजन्य कारणले पो रोएकी हुन् कि ? म आफै पनि काम गरिरहेको संस्था छाड्दा धेरै ठाउँ रोएर विदाइ भएको छु ।

र अन्त्यमा , म अन्तिमसम्म ढुक्क छु, झाँक्री मन्त्रीको गाडी, क्वार्टर, गार्ड र सलाम सहितका अन्य सुविधालाई चटक्क छाड्न परेर रोएकी होइनन् । उनले धेरै गर्नु थियो, गर्न सकिन्, सकिनन् विश्लेषणको अर्को पाटो हो । उनी जस्ता भरोसा बोकेका पात्र कहाँ कहाँ चिप्लिए भन्ने कुराको मुल्यांकन गर्न सकिएला, हुनुपर्छ । तर आफैलाई विश्वास नलाग्ने आरोप थोपरेर उनी माथि खनिनु ले आफैलाई कच्चा बनाउँछ कि ?