दिनेशले पत्नी र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुमान

प्रकाशित मिति:

काठमाडौं, साउन -काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घटनाबारे प्रहरी अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा गोरखा भीमसेन थापा गाउँपालिका–६ आश्राङ घर भई हाल काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले पत्नीसहित छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको आशंका गरिएको छ।

चारैजनाको शव घरभित्रै फेला पारेको प्रहरीको भनाइ छ। घरभित्र धारिलो चक्कु भेटिएको पनि प्रहरीले जानकारी दिएको छ। प्रहरीले घरको ढोका फोडेर शव बाहिर निकालेको थियो। दिनेशको शव एउटा कोठामाझुन्डिएको अवस्थामा र उनकी पत्नी ३९ वर्षीया सुनिता काप्री पाण्डे, ८ वर्षीय छोरा आशिक र १३ वर्षीया छोरी आशिकाको शव अर्को कोठामा भुइँमा भेटिएको थियो। तार्केश्वरका मेयर कृष्णहरि महर्जनले घटनास्थल अत्यन्त बीभत्स रहेको बताए।घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको देखिएको छ। बाहिरबाट मानिस प्रवेश गरेको नदेखिएको टोलीले जनाएको छ।

घटनाको खबर पाएलगत्तै प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनाली नेतृत्वको टोली, अपराध महाशाखाको छुट्टै टोली, प्रहरी वृत्त बालाजुको टोलीसँगै फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको थियो।प्रहरीकाअनुसार दिनेश १२ वर्षजति वैदेशिक रोजगारीका लागि कुवेत बसेका थिए। करिब साढे ४ वर्षअघि नेपाल फर्किएका उनले काभ्रेस्थलीमा मोबाइल पसल खोलेका थिए। केही समयअघि बिक्री गरेका थिए। सुनिता भने कस्मेटिक पसल चलाउँथिन्।छिमेकीहरुका अनुसार दिनेश र उनी पत्नी सुनीताबीच झगडा भइरहन्थ्यो। उनीहरूबीचको झगडा तीनपटक त प्रहरी प्रहरी वृत्त बालाजु पुगेर मेलमिलाप गरिएको थियो। दिनेशकी पत्नी सुनिता बेलायत जाने तयारीमा थिइन्। उनको बेलायतका लागि सिजनल भिसा पनि लागिसकेको खुल्न आएको छ। थप अनुसन्धान भइरहेको छ ।