सिप मुलक तालिम सुरु

प्रकाशित मिति:

भैरहवा , भदौ १२ । बहिरालाई दया होइन, अवसर देऊ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बहिरा बाल माध्यमिक विद्यालय भैरहवाले सिप मुलक तालिम सुरु गरेको छ । विद्यालयमा सिप कार्यक्रम अन्तर्गत सिलाइकटाइ कार्यक्रम आइतबार एक कार्यक्रमका बिच उद्घाटन भएको हो । राज्यले बहिराबालबालिकालाई विशेष खालको व्यवस्था गर्नु पर्नेमा चुकेकोले सिद्धार्थनगर नगरपालिकाले सक्दो सहयोग गर्न पछि नपर्ने उपमेयर उमा अधिकारीले बताइन् ।

शिक्षा क्षेत्रमा राज्यले लगानी गरे पनि सामुदायिक विद्यालयमा प्रगति कमी रहेकोले विशेष खालमा विद्यालयलाई नगरपालिकाले सहयोग गर्न कुनै कमी नराख्ने सिद्धार्थनगर नगरपालिका कार्यकारी प्रमुख नबराज पौडेलले बताए । अन्तर्राष्ट्रिय स्तरमा लायन्सले वातावरण, दृष्टि, क्यान्सर, भोकमरी र डाइबेटिजका क्षेत्रमा सहयोग गर्न निर्देशन गरेको र अहिले आएर सिपमुलक क्षेत्रमा काम गर्न पनि थालेको लायन्स क्लब अफ सिद्धार्थनगर ग्रिनसिटिका अध्यक्ष श्रीबहादुर रायमाझीले बताए ।बहिरा बाल माध्यमिक विद्यालयमा अहिले ३३ जिल्लाका २ सय ३५ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको प्रधानाध्यापक भिम बहादुर थापाले बताए । बहिराहरुका लागि सिलाइकटाइ तालिम उत्तम रहेको र जिविकोपार्जन गर्न सहज हुने भएकोले तालिम सुरु गरिएको प्रधानाध्यापक थापाले बताए । भैरहवामा रहेको बहिरा बाल माध्यमिक विद्यालय २०३२ सालमा स्थापना भएको थियो । स्थापनाकाल देखि नै नेपालको विभिन्न जिल्लाका बालबालिका र भारतको गोरखपुर सम्मका विद्यार्थी अध्ययनरत छन् ।