शाब्दिक कविता

प्रकाशित मिति:

शिव खनाल जीवम

निश्चित शब्दमा संगठित कवितालाई शाब्दिक कविता भनिन्छ । यो एक प्रकारको मुक्तक कविता हो । शाब्दिक कविता संरचनात्मक रूपमा; स्वच्छन्द/गद्य कविता भन्दा संगठित हुन्छ। तर यो छन्द कविता एवम् विभिन्न अक्षर संख्या तोकिएको कविता भन्दा कम संगठित कविता हो ।

कुनै सृजना भाव प्रकट गर्न कठिन भएको खण्डमा अर्को प्रविधामा सहजता हुन सक्छ । शाब्दिक कवितामा कविले आफ्नो अनुभूति र भाव सहजै प्रकट गर्न सक्छन्। । शाब्दिक कविता सामान्यतया छोटो प्रकृतिका हुन्छन् । अंग्रेजी साहित्यमा समेत केही शाब्दिक कविता पढ्न सकिन्छ। तर नेपालमा शाब्दिक कविताको इतिहास त्यति लामो देखिँदैन । बिम्ब कविता नाममा कवि उदय थुलुङले ४ हरफका शाब्दिक कविता लेखेको पाइन्छ ।

झरको प्रवर्तनसँगै यसलाई पूर्ण स्वच्छन्द बनाँउनु भन्दा केही बाँध्न आवश्यक छ भन्ने सोचाइले झर २ देखि ३० अक्षर तथा १ देखि १२ शब्दसम्म झर लेख्न सकिने भनी शाब्दिक कविता लेखन शुरुआत गरिएको थियोे । त्यसै गरी कैलालीका साहित्यकार आर्त अकुलीनले २०७७ असोज २७ गते आफ्नो जन्मदिन पारेर उदक नाममा शाब्दिक कविताको प्रविधा जन्माउनु भएको थियोे ।

नेपालमा हाल केही अक्षर संख्या तोकेर नया प्रविधा जन्माउने होड नै चलेको छ । यही गतिमा विधाको जन्म हुँदै जाने हो भने कविताको संख्या जति विधा जन्मने हो कि भन्ने शंका उत्पन्न हुन्छ । त्यसैले कुनै अक्षर संख्या या शब्द संख्या तोकेर नयाँ प्रविधा जन्माउने होडमा लाग्नु भन्दा काव्यको गुणस्तरीयता र अन्तर्राष्ट्रियकरणमा जोड दिनु आजको अपरिहार्य आवश्यकता हो भन्ने देखिन्छ । त्यसैले केही अक्षर संख्या तोकेर नयाँ प्रविधा जन्माउने लहर भन्दा समग्रमा विभिन्न शैलीमा शाब्दिक कविता नामले कविता रचना गर्नु बुद्धिमानी हुनें देखिन्छ ।

अर्कोतर्फ नेपाली साहित्यमा उत्कृष्ट छन्द कविता रचना भएतापनि यी कवितालाई जस्ताको त्यस्तै अनुवाद गरी अन्तर्राष्ट्रियकरण गर्न सम्भव देखिँदैन । अक्षर संख्या तोकेर प्रवर्तित विधा समेत अन्य भाषामा अनुवाद गर्दा त्यही रूपमा अनुवाद गर्न सकिन्न । त्यस्तै अन्यानुप्रास हुनुपर्ने विधा समेत अनुवाद गर्दा उही रूपमा अनुवाद गर्न गाह्रो हुन्छ । तर शाब्दिक कवितामा त्यो सम्भावना देखिन्छ । शाब्दिक कविता शूक्ष्म संरचना, गहन भाव भएका हुन्छन् ।

केही शाब्दिक कविताका प्रकार यहाँ प्रस्तुत गरिएको छ ।

१. तीन हरफ मध्ये प्रत्येक हरफमा २ शब्द भएका शाब्दिक कविता ।

लामो तिर्खा

चर्केको खेत

एक्कासी बर्षा ।

२.  ३ पङ्ती मध्ये पहिलो पङ्तीमा २, दोस्रोमा ३ र तेस्रोमा २ शब्द भएको शाब्दिक कविता ।

दोबाटो आयो

छोडेर एउटा बाटो

जानुपर्ने भयो ।

३. तीन हरफ मध्ये प्रत्येक हरफमा ३-३ शब्द भएका शाब्दिक कविता ।

एउटै घटनाको चर्चा

एकातिर हारको दु:ख

अर्कातिर खुसीको वर्षा !

४. चार पङ्ती मध्ये हरेक हरफमा १ – १ शब्द रहेको शाब्दिक कविता ।

वृद्धावस्था

माया

स्याहार

आवश्यकता ।

५. चार हरफ मध्ये प्रत्येक हरफमा २ शब्द रहेका शाब्दिक कविता।

लामो बाटो

पुराना याद

भोलिको आशा

यात्रा जारी ।

शाब्दिक कविता अन्त्यानुप्रास भएको र नभएको दुवै हुन्छन् ।

जस्तै :

१. पहिलो र तेस्रो पङ्तिमा अन्त्यानुप्रास भएको शाब्दिक कविता।

पिउने बानीले

सबै बिगार्छ

गन्हाउने पानीले ।

२. हरेक पङ्तिमा अन्त्यानुप्रास भएको शाब्दिक कविता ।

नगरौँ शर्म

जीवनको मर्म

गरौँ कर्म !

३. अन्त्यानुप्रास नभएको शाब्दिक कविता

मौसम प्रतिकुल

जीवहरु एकान्तवासमा,

सिक मानिस ।

यसरी शाब्दिक कविताको उन्नयनको कामना गर्दै स्रष्टा महानुभावहरुको प्रतिक्रियाको अपेक्षा गरिएको छ ।

 

शिव खनाल जीवम

गल्याङ ९ , स्याङ्जा, हाल रुपन्देही ।