गाउंपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी : अनुसन्धान फितलो भएको भन्दै पोलिग्राफ जांच गर्न माग

प्रकाशित मिति:

बुटवल, २८ भदौ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता मुछिएको मुद्दाको अनुसन्धान फितलो भएको र उनलाई राजनीतिक पहुंचका आधारमा जोगाउन खोजिएको भन्दै पोलिग्राफ टेस्ट गर्न माग गरिएको छ । साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले दुई भारतीयलाई योजनाबद्ध रूपमा लागूऔषध मुद्दामा फसाएको आरोपमा गुप्तालाई दुई हप्ताअघि पक्राउ पुर्जी जारी भएको थियो । तर उनीविरुद्ध मुद्दा दर्ता र पक्राउ गर्न प्रहरीले चासो नदिएको बरु उल्टै मुद्दालाई कमजोर बनाउन खोजेको थुनामा रहेका दुई भारतीयका परिवार र जिल्लाका राजनीतिक दलहरुको दावी छ ।

गुप्ताकै योजनामा गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागु औषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । तर प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको,गाउंपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको निश्कर्ष निकालेका थिए ।अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । घटनामा मुछिएका पाण्डे मलेशिया पुगेका छन् भने अध्यक्ष गुप्ता फरार छन् ।

सरकारी वकिल कार्यालय नवलपरासीका चन्द्रबहादुर सिंजालीले प्रहरीको अनुसन्धान प्रतिवेदनमा अझै केही कुरा अपुग भएकाले पुन: अनुसन्धानका लागि समय दिइएको बताए । पक्राउ पुर्जी जारी भएका गाउंपालिका अध्यक्षलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गर्नुपर्नेमा प्रहरीले पालिका कार्यालयमा गएर कुराकानी गरेको विषयमा सरकारी वकिल कार्यालयले स्पष्ट पार्न भनेको सिंजालीले बताए । ‘गुप्ताले के के कुरा गरेका थिए त्यो खुलाएर ल्याउन भनेका छौं’–उनले भने ।यसबीचमा अध्यक्ष गुप्ताले धोबीलाई ८० लाख रुपैयां दिने शर्तमा उनलाई बयान फेर्न लगाई धोबी नै घटनाको मुख्य दोषी देखाएर आफू उम्किन खोजेको धोबीकी श्रीमतीले बताएको स्थानीय राजेन्द्र साहनीले बताए ।
माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष गुप्ताले राजनीतिक पहुंच र आर्थिक चलखेलका आधारमा प्रहरी प्रशासनलाई प्रभावित गरेर आफू उम्किन खोजेको भन्दै उनका सहयोगी धोवीको पोलिग्राफ टेस्ट गर्न हिरासतमा रहेका भारतीयका परिवारले माग गरेका छन् । गुप्ता माओवादी अध्यक्ष प्रचण्ड निकट छन् । ‘शक्ति र पैसाको आडमा निर्दोषलाई फसाइएको छ,सत्यतथ्य पत्ता लगाउन रघुनाथ धोबीको पोलिग्राफ जांच हुनुपर्छ’–रामा गुप्ताका सालो सञ्जय शाहले भने ।

स्थानीय धरेन्द्र यादवले घटनाको अनुसन्धान गर्दा जिल्लाको प्रहरी नेतृत्वले गाउंपालिका अध्यक्षलाई जोगाउन खोजेको देखिएकाले आफूहरुले उच्चस्तरीय छानवीनको माग गरेको बताए । गाउंपालिका अध्यक्ष गुप्ताविरुद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको मुद्दा समेत अख्तियारमा परेकाले उनले आर्थिक चलखेलकै आधारमा गठबन्धनको दुरुपयोग गरेर उम्किने प्रयास गरेको भन्दै त्यसो भएमा आन्दोलन गर्ने बताउंछन् । ‘भारतीय नागरिकलाई साझेदारी कारोबारको एक करोड ३३ लाख दिनुपर्ने रकम नदिन नक्कली घटना बनाएर फसाइएको हो’–यादवले भने ।जिल्ला प्रहरी प्रमुख ऋषिराम कंडेलले घटनाका बारेमा प्रतिक्रिया लिन खोज्दा आफू बाहिर रहेकाले सूचना अधिकारीसंग कुरा गर्न भन्दै पन्छिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले पक्राउ पुर्जी जारी भएका गाउंपालिका अध्यक्ष गुप्ताको खोजी भइरहेको तर फेला नपरेको बताए । अनुसन्धान प्रभावकारी बनाउन पोलिग्राफ जांच आवश्यक देखेमा गर्न प्रहरी तयार रहेको उनले बताए ।

घटनाको अनुसन्धान शुरु भए लगत्तै गाउंपालिका आउन छाडेका अध्यक्ष गुप्ताले आफू चढ्ने गाउंपालिकाको गाडी कहां राखेका छन् भन्ने गाउंपालिका प्रशासनलाई थाहा छैन । दुई हप्ताअघि पक्राउ पुर्जी जारी भएपछि सरकारी गाडी कार्यालयमा हुनुपर्नेमा कहां छ भन्ने पत्तो नभएको गाउंपालिकाकी कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारीले बताइन् । ‘पक्राउ पुर्जी जारी भएपछि सरकारी गाडी अफिसमा छाड्नुपर्ने हो, तर दुरुपयोग भएको छ’–उनले भनिन् । प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले दुई दिन पछि गाडी सहित आफै गाउंपालिकामा आउने गुप्ताले म्यासेन्जरकलमा बताएको जानकारी दिए । गुप्ताको मोबाइल भने स्वीच्डअफ छ ।भारतीय नागरिक रामा गुप्ताले गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्तासंग १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए । पछिल्लो समय रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले उनीहरुलाई लागूऔषध मुद्दामा फसाएको अनुसन्धान प्रतिवेदनले भनेको छ ।

तीन महिनादेखि थुनामा रहेका भारतीइ नागरिक गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले समेत माग गर्दै आएका छन् ।निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।