आयोजक शान्ति नमुना जिल्ला स्तरीय फुटवलको विजेता

प्रकाशित मिति:

तिलोत्तमा, असोज १० । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालय जिल्ला स्तरीय फुटवल प्रतियोगिताको विजेता बनेको छ ।
शान्ति स्पोट्स क्लवको आयोजनामा भएको शिक्षक कर्मचारी बिचको प्रतियोगितामा आयोजक टिमले न्यू होराइजनलाई २–० को गोल अन्तरले हराँउदै उपाधि चुमेको हो । शान्तिको जितका लागि दुबै गोल उत्सव गुरुङले गरेका हुन । विजेताले ४५ किलोको खसी, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले ४० किलोको खसी ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा पामिर इन्टरनेशनल एकेडेमीले तेस्रो स्थान हासिल गरेर ३० किलोको खसी जितेको छ भने अक्सफोर्ड मा.वि. ले प्रोत्साहन स्थान हासिल गरेको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
समापन समारोहमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले खेलको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयहरुबिचको सुमधुर सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै खेलको निरन्तरताको लागि आग्रह गर्नुभयो ।
विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा लगायतले शुभकामना दिनुभएको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।