एकीकृत समाजवादी मर्चवारी–३ को अध्यक्षमा विश्वकर्मा

प्रकाशित मिति:

भैरहवा, चैत्र  ।नेकपा एकीकृत समाजवादीले रुपन्देहीको मर्चवारी गउँपालिका वडा नम्बर ३ मा वडा भेला सम्पन्न गरेको छ । पार्टीको संगठन सुदृढीकरण अभियान–२०७९ अन्तर्गत बुधबार मर्चवारी–३ मा वडा भेला गरिएको एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एवं सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले जानकारी दिए ।भेलाले बीरेन्द्रकुमार विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरेको भण्डारीले बताए । वडा भेलाको अवसरमा नेकपा एमाले परित्याग गरी २० जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । एमाले त्याग गर्दै उनीहरुले एकीकृत समाजवादी मुलुक र जनताप्रति सच्चा पहरेदार पार्टी भएको जनाएका थिए ।

भेलामा बोल्दै एकीकृत समाजवादीका केन्द्रिय कमिटी सदस्य बाबुलाल यादवले संगठन बलियो बनाउँदै लगे आगामी निर्वाचनमा पार्टी ठूलो शक्ति बन्ने बताए । उनले पार्टीको नीति, सिद्धान्त र विचार अन्य पार्टीको भन्दा राम्रो भएको जनाउँदै सबै मर्चवारबासीलाई एकीकृत समाजवादीमा गोलबद्ध भएर समाज र मुलुक बनाउने अभियानमा लाग्न आग्रह गरे ।उनले राजनीतिक दृष्टिकोण, मुलुक बनाउने एजेण्डा, इमान्दार तथा स्वच्छ छवि र बौद्धिक जमातका नेता तथा कार्यकर्ता भएको पार्टी एकीकृत समाजवादी भएको जनाउँदै सबै नागरिकलाई समाजवादीमा आएर अघि बढ्न आग्रह गरे । पार्टी प्रदेश कमिटी सदस्य कमल भण्डारी र आनन्दप्रसाद गुप्ता, जिल्ला सचिवालय सदस्य भण्डारी लगायतले बोल्दै पार्टीको धारणा, आगामी रणनीति, कार्यदिशाकाबारे बताउँदै सबै कार्यकर्ता एकजुट भएर पार्टी संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिए । उनीहरुले समाजवादीको एजेण्डामा मुलुक अघि बढीरहेको जनाउँदै आउँदा दिनमा पार्टी विशाल भएर जनभावनाअनुसार मुलुक बनाउने बताए ।

नवनिर्वाचित वडा कमिटी अध्यक्ष विश्वकर्माले एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार राम्रो लागेर आफू सक्रियरुपमा पार्टी निर्माणमा लागेको जनाए । उनले आमजनताको भावना बुझ्ने नेताहरु पार्टीमा भएकाले आगामी दिनमा मर्चवारका सबै वडा तथा टोल कमिटीहरु बनाएर सबै नागरिकलाई समाजवादीमा एकताबद्ध गराइने जनाए । उनले सबै सदस्यहरुको साथ लिएर पार्टीलाई मजबुत बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।