काठमाडौं, असार – काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनले आफ्ना कारण न्याय संपादनका कार्यमा अवरोध नभएको दाबी गर्दै आफुविरुद्धको मुद्दा औचित्यहीन रहेको दाबी गरेका छन्।उनले आफूविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा खारेज गर्न पनि माग गरेका छन्।मेयर बालेनले सर्वोच्च अदालतले माग गरेको लिखित जवाफ पेस गर्दै उक्त दाबी गरेका हुन्। उनले आफ्ना अभिव्यक्तिका कारण अदालतको अवहेलना नभएको पनि जवाफमा प्रश्ट्याएका छन्।
हिन्दी फिल्मसम्बन्धी एक विवादमा उच्च अदालतको आदेशलाई लिएर नकरात्मक टिप्पणी गरेको बिषयमा ‘अदालतको अवहेलना’ मुद्दा दायर भएको थियो। मेयर बालेनविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले मुद्दा दायर गरेकी थिइन्।मेयर बालेनले सर्वोच्च अदालतले माग गरेको लिखित जवाफ पेश गर्दै आफ्नो विचार अभिव्यक्तिबाट सर्वोच्च, उच्च वा जिल्ला अदालतमध्ये कुन चाहिँ अदालतको न्याय सम्पादनको कार्यमा अवरोध पुग्यो वा कुन चाहिँ आदेश वा फैसलाको अवज्ञा भयो भन्ने सम्बन्धमा वस्तुनिष्ठ यकिन नखुलाएको दाबी गरेका छन्।निवेदकले औचित्ययुक्त व्यहोरा आफ्नो निवेदनमा खुलाउन सक्नुभएको छैन। तसर्थ, विपक्षी निवेदकको अपुष्ट एवं औचित्यहीन निवेदन प्रथम दृष्टिबाटै खारेजभागी छ,’ जवाफमा भनिएको छ।यस्तै मेयर बालेनले काठमाडौँ महानगरपालिकाको प्रमुखको हैसियतमा अदालतको आदेश, फैसला तथा न्याय सम्पादनको कार्यप्रति आफ्नो पूर्ण सम्मान रहेको भनाई पनि राखेका छन्।सर्वोच्चले अवहेलना मुद्दामा बालेनलाई वारेस राख्ने अनुमती दिन अस्वीकार गरेको छ। अब बालेन आफैँ सर्वोच्च अदालतमा गएर मुद्दाको प्रतिरक्षा गर्नुपर्ने हुन्छ।












