काठमाडौं, साउन ५ – जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९र८० मा रु दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । “जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लङ्घन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ”, उनले भने । गत आवमा कार्यालयले सात सय ७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताए ।
यस्तै आव २०७९÷८० मा जिल्लामा एक सय २४ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक सय २९ जना घाइते भएका थिए । सडक दुर्घटनामा परी १० पशुचौपायासमेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार आठ सय ५५ चालकलाई कारबाही गरेको थियो । उनीहरुबाट रु २८ लाख ५५ हजार राजस्व सङ्कलन गरिएको थियो ।












