प्रकाश न्यौपाने
श्रावण ७, बर्दघाट
बर्दघाट नगरपालिकाले पशुमा फैलिरहेको लम्पिस्किन रोग नियन्त्रणका लागि नगरभित्रका पशुहरुलाई लम्पिस्किन विरुद्धको भ्याक्सीन लगाउने भएको छ ।
नगरको पशु सेवा प्राविधिक सहितको आईतबार बसेको बैठकले बर्दघाट नगरपालिका भित्र रहेका गाई र भैसिलाई सोमबार देखी लम्पि स्किन विरुद्धको भ्याक्सीन लगाउने निर्णय गरेको हो ।
वडा नम्बर १४, १५, १६ मा रामप्रसाद पौडेल, १२,१३ भिम बहादुर थारु, ८,९ लेखनाथ बस्याल, २, ३, ४, १०, ११ रमेश पाण्डेय, १, ५, ६, ७ अभिषेक लामिछाने ले लम्पिस्किन विरुद्धको खोप लगाउने पशुपंक्षी विकास शाखाका प्रमुख भरत लम्सालले बताउनुभयो । लम्सालका अनुसार “नगरमा ३ हजार ५ सय गाई बाच्छा बाच्छी र ३ हजार भैसी पाडा पाडी गरी ६ हजार ५ सय पशुलाई खोप लगाईनेछ ।”
२०७७ सालमा नगरमा देखिएको लम्पिस्किन रोगबाट ५ देखी १० प्रतिशत पशुको मृत्यु हुने पशुस्वास्थ्य प्राविधिक चन्द्रकला रेग्मीले बताउनुभयो । रेग्मी भन्नुहुन्छ “लम्पिस्किनका कारण गाई भैंसिले ९० प्रतिशत सम्म दुध घटाउँछन् र पशुमा बाँझोपनको समस्या बढ्ने गर्दछ ।”
जिउमा फोका आउनु, पशुको खुट्टा सुनिनु, पशुलाई ज्वरो आउनु लम्पिस्किनका लक्षणहरु रहेका छन् । भुसुना तथा अन्य किराहरुको टोकाईबाट यो रोग एक पशुबाट अर्को पशुमा सर्ने गरेको पशुसेवा प्राविधिकहरु बताउँछन् ।












