नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । गएराति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । उनले पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको बताए ।
रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि अहिलेसम्म ३० प्रतिशतमात्र काम भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए ।
गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरेका छन् ।उनले काठमाडौँबाट गएका सवारीसाधन मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको बताए । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।












