शुक्रबारदेखि भृकुटीमण्डपमा विद्युतीय उपकरणहरूको प्रदर्शनी हुँदै

प्रकाशित मिति:

काठमाडौँ — शुक्रबार भदौ १५  देखि काठमाडौंको भृकुटीमण्डमा विद्युतीय उपकरणको वृहत प्रदर्शनी हुँदैछ । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जिविसन एण्ड ट्रेड सर्भिसेज इन्डिया तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोटर्स एसोसिएसन अफ नेपालको संयूक्त आयोजनामा मेला हुन लागेको हो । शुक्रबार बिहान ११ बजे मेलाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नेछन् । ३ दिनसम्म चल्ने मेलामा सबै प्रकारका विद्युतीय घरायसी उपकरण, विद्युतीय दुई पांग्रे र चार पांग्रे सवारीसाधन, ऊर्जासँग सम्बन्धित सबै उपकरणहरु राखिने आयोजकले जनाएको छ । ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी’मा १०० भन्दा बढी स्टल रहने छन् ।

प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, विद्युतीय घरायसी उपकरण, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केवल तथा कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरु, एलईडी लाइटिङजस्ता सबैजसो विद्युतीय उपकरणका स्टलहरु रहनेछन्’ आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोजकका अनुसार स्वदेशमै उत्पादित जलविद्युत्‌को विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण र प्रविधिको प्रयोग बढाउने उद्देश्यले मेला आयोजना हुन लागेको हो ।