आज गाईजात्रा (सापारु) मनाईयो ।

प्रकाशित मिति:

हरिश ढकाल-बुटवल, १५ भदौ । अधिकांश स्थानमा हिजो बिहिबार गाईजात्रा पर्व मनाइएको भएपनि रुपन्देहीको सैनामैनामा भने आज शुक्रबार मात्र गाइजात्रा (सापारु) पर्व धुमधामका साथ मनाइएको छ । साउन शुक्ल पुर्णिमाको भोलिपल्ट प्रतिपदा तिथिमा नेवाः समुदायले बिगत १ वर्षमा मृत्यु भएका मृतक परिवारको सदस्यको स्मरणमा गाईजात्रा अर्थात सापारु जात्रा प्रदर्शन गरेर मृतकको आत्माको चिरशान्तिको कामना गर्दछन् ।सैनामैना नेवाः समाजको आयोजनामा सम्पन्न भएको सो गाईजात्रा (सापारु)मा स्थानिय नेवार समुदायका परिवारमा बिगत १ बर्षमा निधन भएका आफन्तको स्मरण र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै प्रदर्शन गरिएको थियो ।

स्थानिय अमृत श्रेष्ठको घरमा गतबर्ष दुईमहिना मात्रको फरकमा निजको आमा र निजको कान्छो छोराको निधन भएको सम्झनामा सैनामैना ३ हाटबजार लाईनबाट (सापारु) गाईजात्रा स्वरुप निर्गुण यात्रा निकालिएको थियो । यस्तै अन्य परिवारबाट पनि सापारु प्रदर्शन गरिएको थियो ।
सैनामैना ३ मुर्गियास्थित दुर्गाभवानी मन्दिरमा बिशेष पुजाको समेत आयोजना गरि बिभिन्न झाँकी सहितको सापारु प्रदर्शन गरिएको हो । सैनामैना नेवा समाजका सचिव खिम श्रेष्ठका अनुसार बिभिन्न घरबाट निकालिएका गाईजात्रा सहितको निर्गुन यात्रा मन्दिरमा पुगेपछि बिशेषरुपले तयार पारिएको सापारु प्रदर्शन गरिन्छ । यसपछि सामुहिक रुपमा मुर्गियाका बिभिन्न स्थानमा परिक्रमा गरि सापारु समापन गरिएको सचिव श्रेष्ठले बताए । सो अवसरमा नगरप्रमुख फणेन्द्र शर्मा, वडाध्यक्षहरु, समाजसेवी पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
सो अवसरमा बुटवलस्थित तिलोत्तमा नेवाः समाज र सैनामैनास्थित सत्यसाई केन्द्रका तर्फबाट निर्गुण प्रस्तुत गरिएको थियो भने सहभागिहरुलाई टिका, दक्षिणा, प्रसाद, सगुन आदी बितरण गरिएको थियो ।