लेखा अधिकृत कार्कीमाथि चार करोड ६७ लाख भ्रष्टाचार गरेको अभियोग

प्रकाशित मिति:

काठमाडौं, भदौ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान विकास केन्द्र पुलचोकका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन (अकुत) अभियोगमा मुद्दा दायर गरेको छ।अख्तियारको अनुसन्धानबाट लेखा अधिकृत कार्कीले चार करोड ६७ लाख ३८ हजार सात सय ८० रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको निश्कर्ष निकालिएको छ।गैरकानुनी सम्पत्ति कसुरमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग दाबी गरेको छ

अख्तियारका अनुसार कार्कीले २०५३ जेठ १७ देखि २०७९ मंसिर २८ सम्म आर्जन गरेको सम्पत्ति अनुसन्धान गर्दा वैध आय १ करोड ८ लाख ४८ हजार ५ सय ९० मात्रै देखिएको छ।अभियोगपत्रमा अख्तियारले सम्पत्ति जफतका लागि अख्तियारले कार्कीकी पत्नी उर्मिला थापा कार्कीलाई समेत प्रतिवादी बनाएको छ । अख्तियार अनुसन्धानका क्रममा कार्की उनको परिवारका नाममा पाँच करोड ७५ लाख ८७ हजार तीन सय ७० रुपैयाँ बराबर सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ।अभियोगपत्रमा कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयर लगायतमा स्रोत नखुलेको सम्पत्ति जोडेको दाबी छ। कार्की सार्वजनिक सेवामा रहँदा कार्कीले पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएपछि कारवाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको हो।