पशुपति कलेजमा तिज गीत प्रतियोगिता

प्रकाशित मिति:

भैरहवा, भदौ । हरितालिका तिजको अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवामा रहेको पशुपति कलेजले तिज गीत प्रतियोगिता गरेको छ । शुक्रबार स्नातक तहमा अध्ययनरत विद्याथीहरु बिच तिज गीत प्रतियोगिता गरेको हो । कलेजले विद्यार्थीकोहरुमा नेपाली मौलिक चाडवर्षको जर्गेना गर्ने र संकृति संरक्षण तथा प्रर्वधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख जितबहादुर राजकोटीले शैक्षिक क्यालेण्डर अनुसार कलेजले पढाइ सँगै अतिरिक्त क्रियाकलाप गर्दै आएको बताउँदै तिजको मौलिकता र संस्कृति संरक्षणकालागि प्रतियोगिता गरिएको बताए ।

कलेजले विद्यार्थीको ज्ञानवृद्धिका लागि समय समयमा अतिरिक्त कार्यक्रम गर्दै आएको र तिजको अवसरमा तिजविशेष कार्यक्रम आयोजना गरिएको बताउँदै विद्यार्थीहरुलाई कुनै किसिमको तालिम आवश्यक परे समितिले व्यवस्था मिलाउने सञ्चालक समिति सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि गोमा गैरेले बताइन् । तिजगीत प्रतियोगिताबाट बिएड तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीको समूह प्रथम, बिबिएस प्रथम वर्षमा अध्ययनरतको समूह द्वितीय, बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीको समूह तेस्रो र बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको समूह सन्त्वना भएको निर्णायक मन्डलका संयोजक पुनहरि बेल्बासेले जानकारी दिए ।