शिक्षकहरुलाई राजनीतिक दलको झोले बनाउनुहुँदैन

प्रकाशित मिति:

काठमाडौं, असोज – विद्यालय शिक्षा विधेयकविरुद्ध शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा पार्टीसम्बद्ध शिक्षक संगठन खारेजी गर्नुपर्ने मागसमेत उठेको छ।नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आबद्ध हुन दिन नहुने आवाज उठाएका हुन्। शिक्षकहरूलाई व्यावसायिक बनाउन पार्टीको भ्रातृ संस्थाका रुपमा समेट्ने कार्य गर्न नहुने नेता गोपाल दहितले बताए।नेपाली कांग्रेसले एउटा राष्ट्रिय सहमति बनाउन चाहन्छ भने यो युनियनहरु खारेजी गर्नुपर्छ,’ उनले अगाडि भने, ‘उहाँहरुलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यावसाय गर्न दिने हो। प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउनुहुँदैन ।’

कांग्रेसनिकट शिक्षकहरु नेपाल शिक्षक संघमा आबद्ध छन्। कतिपयले शिक्षकहरुले संघ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउनुपर्ने बताइरहेका बेला नेता दहितले पार्टीसम्बद्ध शिक्षक संगठनकै खारेजीको माग गरेका हुन्। विकसित मुलुकमा कुनै प्रकारका युनियन नरहेको दाबी गर्दै नेता दहितले नेपालका हरेक क्षेत्रमा विकासको बाधकको रुपमा युनियनहरु रहेको जिकिर गरे।बैठकमा कांग्रेस नेताहरुले शिक्षकहरुको सेवासुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टीले समेत उचित निर्णय गरेर सरकारलाई भन्नुपर्ने माग गरे। विधेयकलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्न सकिने भएकाले आन्दोलनको विकल्प खोज्न पनि कांग्रेस नेताहरुले शिक्षकहरुलाई आग्रह गरेका छन्।