आचार्य बालकृष्णले गरे कामाख्या मन्दिर दर्शन

प्रकाशित मिति:

बुटवल, ९ कात्तिक । पतञ्जली योगपीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तब्य रहेको बताएका छन् ।पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसंग बोल्दै उनले प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको बताए ।‘भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य छ, तर भारतीय नागरिक विना पासपोर्ट,विना अनुमति नेपालका जुनसुकै ठाउं घुम्न जान सक्छन्’– उनले भने–‘दुई देशबीच सनातन संस्कृति,वैदिक परम्परा, भाषिक, धार्मिक, सांस्कृतिक समानता र रोटीबेटीका सम्बन्धले पनि सहज छ ।’नेपाल बुद्ध,पशुपतिनाथ,मुक्तिनाथ,जानकी र बाल्मिकीको भूमि भएको उल्लेख गर्दै उनले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवद्र्धनमा पहल गर्न सुझाव दिए ।
उत्तर प्रदेशसंग जोडिएको रुपन्देहीमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए ।

उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाञ्चल प्रदेश जानुपर्ने अवस्था छ, त्यहां पुग्न भन्दा बुटवल आउन धेरै नजिक छ’–उनले भने ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भएकाले त्यसमा ध्यान दिन सुझाए । भारतको पतन्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवद्र्धन गरेको उनको भनाई छ ।नेपाल र भारतबीचको सांस्कृतिक विरासत साझा र अक्षुण रहेको रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने उनले बताए ।रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडिबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पांच सय जनाले रोजगारी पाउने उनले बताए । ४० वर्षपछि पहिलोपटक गृह जिल्ला स्याङजामा दशैं पर्व मनाउने अवसर मिलेको र सोही क्रममा कामाख्या देवी मन्दिर दर्शन गर्न पाउंदा खुशी लागेको आचार्य बालकृष्णले बताए ।सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसंगै भारत उत्तर प्रदेशको २४ करोड जनसंख्यालाई लक्षित गरेर पांचतारे होटेल सहित केबलकारमा ५ अर्ब लगानी हुने बताए । सञ्चालनको ५ महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको पौडेलले बताए । केबलकारले प्रत्येक टिकटको २ प्रतिशत रकम सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरेको र करिब सय जनालाई रोजगारी दिएको उनले बताए ।आयुर्वेद शिरोमणि बालकृष्णसंगै उनका नेपाल र भारतका करिब दुई सयजना अनुयायीहरु र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेत कामाख्यादेवी मन्दिरको दर्शन गरेका थिए