देवदहमा नगर प्रमुख र हाकिमको कार्यकक्षमा वहुमत वडाध्यक्षले लगाए ताला

प्रकाशित मिति:

बुटवल । देवदह नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आर्थिक अनियमितता हुने गरी एकलौटी र अपारदर्शी निर्णय गरेको भन्दै ७ वटा वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेका छन् ।
सोमबार नेपाली काँग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिले आन्दोलनसहित नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
नगरपालिकामा एकलौटी निर्णय गरिएको र आफु खुसी निर्णय गर्दा सुशासनमा समस्या देखिएको विरोधमा उत्रिएका वडा अध्यक्षहरूको आरोप छ ।
नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरी भुक्तानी समेत भएको,नगर प्रमुख कोषदेखि आफ्नो कुल मन्दिरमा रकम विनियोजन गरी वडा नं. ९ को कार्यालयको सहमति विना रकम निकासा समेत गरिएको,वडा नं ८ मा मंसिर २० गते नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला वन कार्यालयले ट्रेक्टर, जे.सि.भि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाए तर नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत मिलेमतोमा बिना राजश्व छोडिएको वडाध्यक्षहरुको भनाई छ ।
देवदह नगरपालिकामा गरिने आन्तरिक सामग्री खरीद प्रक्रिया सार्वजनिक खरीद प्रक्रियामा नगई मनोमानी ढंगले खरीद गर्दै आएको,नगरपालिकाबाट गरिएका शिक्षक तथा कर्मचारी नियुक्ति परिक्षाहरु पारदर्शी ढंगले नगरिएको, अघिल्लो नगर सरकारदेखि लागु गरेको देवदह नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको योगदानमा आधारित सुरक्षा कोषमा आवद्ध गराउन पटक पटक कार्यपालिकाबाट लागु गर्ने निर्णय भए पनि प्रमुख प्रशासकिय अधिकृतले लागु नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।
नगरस्तरिय खेलकुद समिति गठन प्रक्रियामा कार्यपालिकाभित्र असहमति हुँदाहुँदै जबरजस्ती र मनोमानी ढंगले बहुमतको दम्भ देखाँउदै निर्णय गरिएको,उपभोक्ता समितिलाई कार्य सम्पादन पछि पनि पटक पटक नगरपालिका धाउन पर्ने गरी सास्ती दिईएको, नगरसभामा कोरम नपुग्दा नपुग्दै घर घरमा गएर हस्ताक्षर गराएर नगर सभा सञ्चालन गरिएको,कार्यपालिकाको निर्णय बिना नगर प्रमुखले तोक आदेशको भरमा विभिन्न शिर्षकमा रकम बांडेको वडाध्यक्षहरुको आरोप छ । शुरुदेखि नै कार्यपालिकाभित्र बहुमतको दम्भमा निर्णयहरु भएको र १२ मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ८ जना कार्यपालिका सदस्यले नोट अफ डिसेन्ट (असहमति) राख्दा समेत बहुमतको दम्भ देखाउने गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आन्दोलनमा देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपाल, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादव र वडा नं १२ का वडा अध्यक्ष डेग बहुदर सारू सहित १५ जना जनप्रतिनिधि सहभागी छन् ।
कार्यकक्षमा तालाबन्दी गरिएपछि नगर प्रमुख खरेलले नगरपालिकामा सुशासन कायम गर्न प्रयत्न गरिरहेको दावी गरे ।