स्याङ्जावासीले भने, ‘नयाँ बर्षमा सुशासन र समृद्धिको विकास होस’

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल-स्याङ्जा ।आजबाट नयाँ बर्ष अर्थात् २०८१ शुभारम्भ भएको छ । नयाँ बर्ष आरम्भ पारेर वालिङ १ ले आयोजना गरेको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन र जनता पुस्तकालय उदघाटन कार्यक्रममा वडावासीले नयाँ बर्ष २०८१ सुशासन र समृद्धिको बर्षको रुपमा विकास होस भन्ने कामना गरे । हरेक बर्ष आउछ जान्छ तर नयाँ बर्षमा शुभकामना दिने मात्रै काम नभएर २०८१ साच्चिैकै मुलुकको समृद्धि सगै वालिङ नगरको मुहार फेरिने विश्वास व्यक्त गरे ।हरेक नयाँ बर्ष आशा लिएर आउछ तर जाने बेला निरासा भएर बिदाई हुने गरेको स्मरण गर्दै वडावासीले उत्साहका साथ शुभारम्भ भएको ०८१ साल बिदाई गर्दापनि उमङ्ग र उत्साहका साथ बिदाई गर्न पाइयोस भन्ने कामना गरे । शुभकामना आदानप्रदान, २०८१ को भित्तेपात्रो विमोचन र जनता पुस्तकालयको उदघाटन गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले वडावासीले दिएको शुभकामना सन्देशले साच्चिकै समृद्धिकै बर्ष हुने विश्वास व्यक्त गरे ।

शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रमुख खाँणले हराउन थालेको जनता पुस्तकालयको खोजी जसरी यो वाडले गरेको छ त्यसरी नै हराउन थालेका र हुन नसकेका विकासका आयोजनाहरु यो बर्षबाट शुभारम्भ हुने प्रतिवद्धता व्यक्त गरे । परिवर्तनको सम्वाहकको रुपमा रहेको जनता पुस्तकालय पुन स्थापना गरेर वडा नम्वर १ ले महत्वपुर्ण काम गरेको भन्दै नगर प्रमुख खाँणले अब हरेक वाडले पुस्तकालय बनाउने अभियान शुरु गर्न आग्रह गरे । पढ्ने बानीको विकास घट्दै जान थालेको प्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख खाँणले यस्ता पुस्तकालय स्थापना गरेर पढ्ने बानीको विकास बढाउनु पर्नेमा जोड दिए ।कार्यक्रममा जनता पुस्तकालयका अध्यक्ष जिवलाल काफ्लेले परिवर्तनका लागि स्थापना गरिएको पुस्तकालयलाई वडाले व्यँुताउने काम गरेकोमा धन्यवाद दिए । पञ्चायत बिरुद्धको आन्दोलनमा नागरिकलाई सु—सुजित गर्ने उदेश्यले स्थापना गरिएको यो पुस्तकालय इतिहास भएको स्मरण अध्यक्ष काफ्लेले गरे ।

वालिङ १ का वडा अध्यक्ष तथा वालिङ नगर प्रवक्ता पदमराज गुरुङ्ले सुतेको जनता पुस्तकालयलाई नयाँ बर्षको शुभारम्भ सगै व्युँताउने प्रयास गरिएको बताए । यो बर्षमा सुतेर रहेका सबै क्षेत्रको खोजीगरी व्युँताउन प्रेरित गर्न यो नयाँ बर्षले साथ दिने आशा अध्यक्ष गुरुङ्ले गरे ।कार्यक्रममा वालिङ नगरपालिकाका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, टोल विकास संस्थाका अध्यक्षहरु, सामाजिक व्यत्तित्व, सरकारी कार्यालयका प्रमुख, संचारकर्मी, विभिन्न राजनीतिकदलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य सिता विकले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव बुद्धिनारायण पंगेनीले गरेका थिए ।