बुटवल । उद्योग ब्यापार संघ बुटवलले राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष महाबीर पुनको वीरगन्जस्थित कृषि औजार कारखाना चलाउन रकम संकलन अभियानमा साथ दिएको छ । संघले पुनको अभियानलाई सघाउन बिहीबार आफ्नै कार्यालयमा पुनलाई निम्ता गरी २० हजार रुपैयां बराबरको पुस्तक खरिद गरेर साथ दिएको हो । सो अवसरमा बोल्दै महाबीर पुनले सरकारले कृषि औजार कारखाना चलाउने जिम्मा दिएपनि वजेट नदिएकाले आफूले पुस्तक बेचेर कारखाना चलाउने रकम जुटाउन देश दौडाहामा हिंडेको बताए । पुस्तक बेच्न शुरु गरेको १०२ दिनसम्म २८ जिल्लामा पुग्दा ८५ हजार पुस्तक विक्रि भएको पुनले बताए । नेपालका ७७ वटै जिल्लामा पुगेर पुस्तक बेच्न एक वर्ष लाग्ने र अर्को वर्ष विदेशमा समेत गरी कम्तीमा ३ लाख पुस्तक बेचेर कारखाना चलाउन आवश्यक रकम जुटाउने पुनले बताए । सरकारले कृषिप्रधान मुलुक भनेपनि कृषि औजार कारखाना समेत चलाउन नसक्नु विडम्बना भएको देखेर आफूले कारखाना चलाउन पुस्तक निकालेर बेच्ने अभियान चलाएको र एक प्रतिशत नेपालीले मात्रै पुस्तक किने पनि २१ करोड रकम जुट्ने बताए । विदेशका कैयौं देशमा कच्चा पदार्थ आयातमा भन्सार नलाग्ने भएपनि नेपालमा त्यस्तो नहुंदा स्वदेशी उद्योगीहरु फस्टाउन नसकेको बताए । उनले विदेशी सामानसंग मुल्यमा प्रतिस्पर्धा गर्नसक्ने गरी उत्पादन गर्नुपर्ने औंल्याए ।
सो अवसरमा उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णु प्रसाद पाण्डेले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण तथा ब्यापार विविधिकरण गर्ने आफ्नो संघको नारासंग महाबीर पुनको अभियानले सहयोग पुग्ने भएकाले संघले सहयोग गरेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी र कार्यक्रम संयोजक एवं उद्योग उपाध्यक्ष पदम जीसीले महाबीर पुनको अभियानलाई देशभरका संघसंस्था र सरकारी निकायले उनको पुस्तक खरिद गरिदिएर कृषि औजार कारखाना चलाउने महान तथा पवित्र उद्देश्यलाई छिटो पूरा गराउन भूमिका खेल्नुपर्ने बताए । २०५९ सालदेखि बन्द अवस्थामा रहेको कारखाना महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहलमा सञ्चालनमा आएको छ । आविष्कार केन्द्रले कारखानाभित्र रहेका मेसिनहरूमध्ये ८० प्रतिशत मेसिनहरू सञ्चालनमा ल्याएको छ । बाँकी मेसिनहरू मर्मत सम्भार गर्नुपर्ने छ ।
कारखानाबाट ट्याक्टरमा प्रयोग हुने कल्टी, दुध र पानी बोक्ने ट्याङकी, साबेल, कुटो, कोदालो, चक्कु, बन्चरो लगायतका साना औजारहरू उत्पादन हुने गर्दथ्यो ।
२०२४ सालमा तत्कालीन राजा महेन्द्रको पालामा सञ्चालन भएर २०५९ सालदेखि बन्द रहेको थियो ।
आविष्कार केन्द्रले कारखाना सञ्चालन, बिजुली बत्ती र आधुनिक औजार उत्पादनका लागि २७ करोड आवश्यक पर्ने भन्दै सरकारलाई प्रस्तावना पेस गरेको थियो । २ दशकदेखि बन्द अवस्थामा रहेका कारखानामा झन्डै पाँच दर्जन मेशिनहरू कामै नलाग्ने अवस्थामा पुगेको छ ।
कारखाना बन्द भएसँगै कारखानाको अधीनमा रहेको झन्डै १० बिघा जग्गा काँसघारी बनेको थियो भने कारखानाको भवन भूत बङ्गला जस्तै भएको थियो । कारखानाभित्र रहेका झन्डै पाँच दर्जन मेशिनहरूमाथि झार पलाएर कामै नलाग्ने अवस्थामा पुगेको थियो । विगतमा कारखाना सञ्चालनका लागि धेरे प्रयास भए पनि सफल भने हुन सकेको थिएन ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालनको प्रतिबद्धता जनाएसँगै यो कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिएको हो ।












