सबलपोष्ट ।
बुटवल । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद इदुल जोहाको अवसरमा नेपाल हज कमिटीका निवर्तमान अध्यक्ष एवं सामाजिक तथा राजनीतिक अगुवा शमशेर मियाले समस्त इस्लाम धर्मावलम्बी तथा अन्य सबै नेपाली समुदायमा शुभकामना व्यक्त गरेका छन् । मियाले सोमबार एक विज्ञप्ति जारी गर्दै बक्र ईद पर्वले सम्पूर्ण नेपालीहरूबीच एकता, प्रेम र सहिष्णुता कायम गर्दै सामाजिक न्यायसहितको समुन्नत रास्ट्र निर्माणमा सहयोग पुग्ने बिश्वास व्यक्त गरेका छन् ।
उनले नेपाल बहुजातीय , बहुभाषिक , बहुधार्मिक एवम् बहुसांस्कृतिक बिशेषताहरूले भरिपूर्ण देश भएकाले सबै जाति, समुदायका चाड पर्वलाई सरकारले समान व्यवहार गर्नुपर्ने बताएका छन् । इस्लाम पात्रो हिजरी सम्वत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ ।
ईदलाई मुस्लिम समुदायले आत्म शुद्धिका लागि मनाउने गर्दछन् । खासमा जीवन र मरण आफ्नो वशमा छैन भनेर दर्शाउनु नै यस पर्वको उद्देश्य हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न धर्मले जायज मानेका जनावरलाई बलि दिने गरिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने परम्पराअनुसार मुलुकभरका मुस्लिम धर्मावलम्बीहरूले बकर इद आज मनाउन लागेका हुन्।
यस दिन बिहान सबैरै उठेर नुहाइधुवाइ गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदमा गई नमाज पढ्नुका साथै अँगालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गरिने मुस्लिम अगुवा मियाले बताए।
आज देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्छ। यो पर्व मनाउन सरकारले सार्वजनिक विदा दिएको छ। हिजरी संवत्अनुसार हजारौं वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवाहरू बताउँछन्। नमाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको बलि दिने परम्परा छ। बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ। त्यसमध्ये एक भाग आफ्ना लागि, अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र तेस्रो भाग गरिब तथा असहायलाई दान गरिन्छ।
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा करिब चार हजार वर्षपहिले हजरत इब्राहिमले सपनामा परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरका लागि हो भन्ने भावना जागृत गराउनु हो। आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा र मीठा परिकार एकापसमा साटासाट गर्छन्।
नेपाली मुस्लिम समुदायले यो दिनमा आफ्नत र साथीभाइलाई बोलाएर मुस्लिम परिकारहरू खुवाउने र एक आपसमा खुसियाली साटेर पर्व मनाउँछन्।
बकर इद पर्वका अवसरमा राज्यले सार्वजनिक दिए पनि त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेको भन्दै मुस्लिम अगुवा मियाले असन्तुष्टि व्यक्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयले ४ वर्षे बीबीएस पुरानो कोर्षको परीक्षा बकर ईदको दिन राखेको भन्दै पर्व मनाउने दिन मुस्लिम विद्यार्थीलाई परीक्षा दिन लगाउने काम गलत भएको उनले बताए ।
अबका दिनमा सबै मुस्लिम अगुवाहरू एक स्थानमा उभिएर मुस्लिमको धर्म र पहिचान स्थापित गर्नुको विकल्प नरहेको शमशेर मियाले विज्ञप्तिमा जनाएका छन्।


			







 				