न्यु मिडियाले सञ्चार माध्यमबिच ठुलो वा सानो मिडिया भन्ने भेद मेटाउँदैछः अध्यक्ष बस्नेत
काठमाडौँ १६ असार । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले सञ्चार माध्यमबिचको ठुलो सानो भन्ने भेद नै मेटाउँदै गएको बताउनुभएको छ । काउन्सिलको आयोजना र सञ्चारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले न्यु मिडियाले ठुला सञ्चार माध्यम तथा साना सञ्चार माध्यम भन्ने विभेदलाई अन्त्य गरिदिएको र यसले सबैका लागि अवसर सिर्जना गरेको उल्लेख गर्नुभयो । न्यु मिडिया र पत्रकार महिला ९युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्दै उहाँले न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गरेको बताउनुभयो । उहाँले नेपालका सन्दर्भमा परम्परागत भनिने सञ्चार माध्यमले पाठकमाझ प्रभावकारी उपस्थिति जनाउन सक्नुपर्ने बताउनुभयो । त्यसका लागि युट्युबसहित सामाजिक सञ्जालमार्फत द्रुत सम्प्रेषणको रणनीति त्यस्ता सञ्चार माध्यमले बनाउनुपर्ने उहाँको भनाइ थियो । ‘हामीले के कसरी काम गर्छौँ, त्यसमा नै निर्भर हुन्छ । हरेक सङ्कटसँगै समाधान र अवसर सँगै आउँछ । हाम्रा सञ्चार माध्यमले विश्वसनीय र छिटो सम्प्रेषणका लागि रणनीति र प्याकेज ल्याउन सके कि सकेनन् त्यो पनि विचारणीय हुन्छ ।’ उहाँले भन्नुभयो ।
अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबसहितका सामाजिक सञ्जाल न्यु मिडियाको व्यवस्थापनका लागि तत्काल कानुनी अड्चन हटाउनुपर्ने र त्यसका लागि काउन्सिल तयार रहेको स्पष्ट पार्नुभएको छ । ‘अहिले नै कानुन ल्याउन सकिँदैन भने प्रेस काउन्सिलका केही दफा फेरौँ र व्यवस्थापन गरौँ, हामी त्यसका लागि सक्षम र तयार छौँ । राज्यले नीति बनाउन र कानुन ल्याउन ढिलाई गर्नुहुँदैन ।’ उहाँले भन्नुभयो । बस्नेतले सञ्चार माध्यमका रूपमा सञ्चालन हुने जुनसुकै प्लेटफर्म र जुनसुकै माध्यमबाट पत्रकारिता कर्म गर्नेहरू पहिलो नियामक निकाय काउन्सिल नै रहेको प्रस्ट्याउनु भयो । काउन्सिल व्यक्तिगत रुपमा सञ्चालित नभइ मिडिया र मिडियाकर्मीका आवरणमा सञ्चालित न्यु मिडियाको व्यवस्थापनका लागि सक्षम रहेको उहाँको भनाइ थियो ।कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार बबिता बस्नेतले न्यु मिडियाले भ्रमपूर्ण प्रचारको बढावालाई प्रोत्साहन गर्दा प्रतिष्ठित र विश्वसनीय सञ्चार माध्यमबाट समेत गलत विषय सम्प्रेषण हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेपालमा सञ्चार माध्यमको विश्वसनीयता र आमधारणाबारे सर्भे गर्न काउन्सिललाई सुझाव दिनुभयो ।पत्रकार निर्मला शर्माले विगतमा सञ्चार माध्यममा आफ्ना विषयवस्तु वा विचार समस्यासमेत राख्न स्थान नपाउने जोकोही अहिले आफैँ मिडिया सञ्चालक बन्ने वातावरण न्यु मिडियाले बनाएको बताउनुभयो । पत्रकार महिलाका लागि न्यु मिडिया अवसरको राम्रो माध्यम भएको उहाँको भनाइ थियो । उहाँले अहिलेको पत्रकारिताको चुनौती भनेकै सामाजिक सञ्जालबाट फैलिएको सूचनालाई आधिकारिक बनाउनु र छिटो सम्प्रेषण गर्नु रहेको बताउनुभयो ।
यस्तै पत्रकार अखण्ड भण्डारीले परम्परागत माध्यमको पत्रकारितालाई नयाँ मिडियाले बाटो देखाउने र बचाउने काम गरेको बताउनुभयो । उहाँले न्यु मिडियासँगै अगाडि बढ्न नसक्दा छापा पत्रकारितामा चुनौती देखिएको प्रष्ट पार्दै आफ्नो विषयवस्तु सम्प्रेषणका छापा माध्यमले न्यु मिडियालाई अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो । पत्रकारिता शिक्षामा व्यवहारिक र समयानुकूल परिवर्तन नहुने हो भने पुरानै पद्दतीमा पत्रकारिता बाँच्न नसक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सञ्चारिका समूहकी पूर्वअध्यक्ष नितु पण्डितले ‘न्यू मिडिया र पत्रकार महिला’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि पत्रकार दीपा रेग्मी र दुर्गा खनालले टिप्पणी गर्नुभएको थियो ।प्यानल छलफलमा काउन्सिलका अध्यक्ष, बालकृष्ण बस्नेत, अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारी, नारी मासिकका सम्पादक उपासना घिमिरे, नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष अनिता बिन्दु सहभागी हुनुहुन्थ्यो ।‘हामी पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध छौँ’ भन्ने सामूहिक प्रतिबद्धता जनाएर सुरु भएको कार्यक्रमको पहिलो सत्र सञ्चारिका समूहका महासचिव बसन्ती बास्तोला र दोस्रो सत्र न्युज एजेन्सी नेपालका सञ्चालक कृष्णा पौडेलले सहजीकरण गर्नुभएको थियो ।सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालको स्वागत र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालको धन्यवाद मन्तव्य रहेको थियो ।












