काठमाडौं, भदौ ४ : भारी वर्षाका कारण आएको बाढी, पहिरो, डुवानसहित विपद्मा परी एक सय ९० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बर्षा याम शुरु भए यता भदौ ३ गतेसम्म उक्त मानविय क्षति भएको हो। पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएका छन् । प्रहरी तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा ५६, बागमती प्रदेशमा ३२, लुम्बिनी प्रदेशमा ३६, कोशी प्रदेशमा २७, कर्णाली प्रदेशमा १३, सुदूरपश्चिम प्रदेशमा १५, मधेश प्रदेशमा आठ र काठमाडौँ उपत्यकामा तीन जनाको ज्यान गएको छ।
मनसुनजन्य विपतमा परी दुई सय ३८ जना घाइते भएका छन्। बाढीपहिरोमा परी बागमती प्रदेशमा ४१, कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, सुदूरपश्चिम प्रदेशमा एक र कर्णाली प्रदेशमा एक जना बेपत्ता भएका छन्। यस्तै, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका छन्। उक्त अवधिमा प्रहरीले एक सय १४ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार बाढीका कारण तीन सय ८४ घर डुवान, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ।












